महिलाको आवाज बोल्ने ‘रत्यौली’

प्रमिला कुँवर २०८२ मंसिर १५ गते १०:५६

पोखरा ।
जुन समयमा महिलाहरु खुलेर बोल्न सक्दैनथे, मनका कुरा व्यक्त गर्ने, सामाजिक व्यंग्य गर्ने र आफ्ना भावना उजागर गर्ने माध्यम थियो रत्यौली । वैवाहिक संस्कृतिसँग जोडिएको रत्यौलीमा गाउँदै रमाउने, हाँसो–ठट्टा गरिन्छ । पुरुषहरु जन्ति गएका बेला महिलाहरुले यसमार्फत आफ्नो पीडा व्यक्त गर्ने तथा विशेष गरी यौन प्रसंगका कुराहरु व्यक्त गर्छन् ।


राति गाइने र यसमा रति क्रिडाको व्याख्या गरिने भएकाले ‘रत्यौली’ नाम राखिएको जानकारहरु बताउँछन् । रत्यौली परम्परा लोप हुने अवस्थामा पुगेको तथा यसमा पैसा झार्ने र व्यक्तिलाई होच्याउने जस्ता विकृति आएको पोखरा–१४ चाउथेस्थित समग्र महिला बहुउद्देश्यीय सहकारीकी अध्यक्ष सविना अधिकारीले बताइन् ।


अन्नपूर्ण गाउँपालिका–१ नौडाँडामा भएको ‘मेरो सम्पदा, मेरो आवाज : महिला मुखी र समावेशी रत्यौली अभ्यासतर्फको नयाँ अध्याय’ शीर्षकको कार्यशालामा बोल्दै उनले रत्यौलीलाई मनोरञ्जनसँगै संस्कृतिको समृद्ध अभिव्यक्ति बनाउने वातावरण आवश्यक रहेको बताइन् ।

Advertisement


कार्यक्रम एम्प्लिफायर परियोजनाअन्तर्गत फिनल्यान्ड अनुसन्धान परिषदको आयोजनामा तथा पोखरा महानगरपालिका, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ र सञ्चारिका समूह गण्डकीको सहकार्यमा सञ्चालन भएको हो ।


रत्यौलीका बेला परम्परागत खानेकुराकै प्रयोग गनुपर्ने बताउँदै ‘रत्यौलीका आफ्नै विशिष्टता छन् । आधुनिकताको नाममा मौलिकता हराउन दिनुहुँदैन । यसबाट हुने आम्दानी सहि ठाउँमा प्रयोग गर्न सकेमा झन् राम्रो हुने थियो,’ अधिकारीले भनिन् ।

Advertisement


मेला–महोत्सवमा हुने रत्यौली प्रतियोगितामा पुरुष निर्णायक रहनु अनुचित हुने उनको भनाइ छ । उनले यस संवेदनशील विषयमा महिलाकै भूमिका सशक्त हुनुपर्ने बताइन् । ‘महिलाले रत्यौली गहिरोसँग बुझ्छन् । निर्णायकमा महिला रहनु नै उपयुक्त हुन्छ,’ उनले भनिन् ।


पोखरा–३१ नहरचोक नमुना टोल विकास संस्थाका अध्यक्ष गंगा थापाले रत्यौलीमा मादल बजाउन महिला स्वयं सक्षम बन्नुपर्नेमा जोड दिइन् । पुरुष मादन बजाउन आएमा महिलाले सहज रुपमा गीत गाउन नपाउने तथा पैसा तिरेर मान्छे बोलाउँदा अनावश्यक खर्च हुने उनको भनाइ छ । ‘रत्यौलीलाई विकृति विरुद्धको आवाज बनाउन सकिन्छ,’ उनले भनिन् ।


रत्यौली पनि कविता लेखन जस्तै रहेको साहित्य स्रष्टा उज्वला महर्जनले बताइन् । रत्यौलीमा पनि कविताको जस्तै अंगहरु समावेश हुन्छन् । परम्परागत तरिकालाई परिमार्जन गरेर शब्द निर्खान आवश्यक रहेको महर्जनले उल्लेख गरिन् । रत्यौलीमा वास्तविकता उजागर गर्न सकेमा अझै राम्रो हुन्छ दर्शकलाई पनि छुन्छ ।


साहित्य स्रष्टा उज्वला महर्जनले रत्यौलीलाई कविता लेखनसँग तुलना गर्दै यसको संरचना, अभिव्यक्ति र भाव प्रस्तुत गर्ने शैली कवितासँग मिल्दाजुल्दो रहेको बताइन् । रत्यौलीमा पनि कविताजस्तै अंग, लय, प्रतीकात्मकता र भावनाको गहिराइ समावेश हुने उनको भनाइ छ ।


महर्जनले छाडा शब्दको प्रयोग, होच्याउने अभिव्यक्ति तथा व्यंग्यलाई हटाएर रत्यौलीलाई समयअनुकूल परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याइन् । यसको मौलिकतालाई जोगाउँदै शब्द चयनमा संवेदनशीलता र कलात्मकता जोडिनुपर्छ भन्ने उनको भनाइ छ ।

उनले थपिन्, ‘रत्यौलीले समाजका वास्तविकता, अनुभव र भावनालाई उजागर गर्न सकेमा यसको सार्थकता बढ्छ ।
नाट्य कलाकार दिया मास्केले परम्परागत रत्यौलीलाई नाटकजत्तिकै सशक्त अभिव्यक्ति माध्यमको रुपमा हेर्न सकिने बताइन् । रत्यौलीमा गीत, नृत्य, संवाद, पहिरन र कथा जस्ता नाट्य तत्वहरु समावेश भएकाले यसलाई पूर्ण नाटकका रुपमा बुझ्न सकिने उनको धारणा छ ।


उनले रत्यौलीका दृश्य–अंशहरूलाई आधार बनाएर आधुनिक रंगमञ्चमा छुट्टाछुट्टै लघु नाटकका रुपमा पनि प्रस्तुत गर्न सकिने बताइन् । ‘कुनै लामो कथाको सानो भाग बनाउन पनि रत्यौली उपयोगी छ । यसमा प्रयोग हुने गीत र शब्दले कथालाई अझै बलियो बनाउँछ । युवा पुस्ताले रत्यौलीलाई रंगमञ्चसँग जोडेर सिकेमा यसको प्रवद्र्धन हुने थियो,’ उनले भनिन् ।


नयाँ पुस्तालाई आर्कषण गर्नुपर्ने बताउँदै मास्केले रत्यौलीलाई मनोरञ्जनको रुपमा मात्र नभइ समाज परिवर्तनको माध्यमका रुपमा हेर्न आग्रह गरिन् ।

मादल प्रशिक्षक शारदा डंगोलले नेपाली संगीतमा मादलको भूमिका महत्वपूर्ण रहेको बताइन् । मादल नेपालमै बन्ने र नेपालमै मात्र बजाइने भएकाले यसले राष्ट्रिय पहिचान बोकेको उनले उल्लेख गरिन् । उनका अनुसार नेपाली संगीत मादल बिना अधुरो छ । लोकगीतदेखि पप, आधुनिक, हिप–हप गीतहरुमा पनि मादलको प्रयोग हुन थालेको प्रशिक्षक डंगोलले जानकारी दिइन् ।

डंगोलले विद्यालयमा मादल सिकाउने वातावरण बनाए यसको संरक्षण र विकास दुवै सहज हुने उनको भनाइ छ । मादल बनाउने र बजाउने तालिम प्रदान गर्ने तथा यसलाई लोप हुन नदिन स्थानीय तहले दीर्घकालीन योजना बनाउनुपर्नेमा डंगोलले जोड दिइन् ।


लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुलीले रत्यौलीलाई संरक्षण र प्रवद्र्धन गर्न आगामी लेखनाथ महोत्सवमा रत्यौली प्रस्तुति आयोजना गरिएको बताइन् । संघले यसअघि प्रतिस्पर्धात्मक रुपमा प्रतियोगिता गर्ने गरको भएपनि प्रतिस्पर्धा सांस्कृतिक अभ्यासका लागि उपयुक्त नदेखिएपछि अहिले समान सहभागितामार्फत रत्यौली प्रस्तुत गरिने उनले जानकारी दिइन् ।


महोत्सवमा उत्कृष्ट २० समूहले रत्यौली प्रस्तुत गर्नेछन् । ‘रत्यौलीलाई पुस्ता हस्तान्तर गर्नु हाम्रो जिम्मेवारी हो । रत्यौली गीत समाजका विकृति विरुद्ध बोल्ने खालको तथा समय अनुकूलको प्रस्तुति आवश्यकता छ,’ पराजुलीले भनिन् ।


कार्यक्रम आयोजना काठमाडौंकी पुष्पा पलाञ्चोकेले गरेकी हुन् । फिनल्यान्डको युनिभर्सिटी अफ द आट्र्स हेलसिन्की एकेडेमीमा विद्यावारिधि अध्ययनरत जातीय–संगीत विज्ञ तथा संगीत सम्पदा अभियन्ता पलाञ्चोकेले महिला मुखी र समावेशी रत्यौली विषयमा पिएचडी गर्दै छिन् । उनले काठमाडौं विश्वविद्यालयबाट संगीत विभागमा स्नातकोत्तर गरेकी छन् । प्राडा कुसुमाकर न्यौपानेले नेपाली लोकसाहित्यका विविध पक्षबारे र रत्यौलीका बारेमा कार्यशालाको पहिलो दिन प्रस्तुति दिएका थिए ।

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया