पोखरा रंगशाला गेट नं ६ खुला

समाधान संवाददाता २०८२ मंसिर १५ गते ११:१०

पोखरा ।
विशेष कामबाहेक बन्द रहने पोखरा रंगशालाको गेट नं ६ आइतबारदेखि सबैका लागि खुला गरिएको छ । पोखरा रंगशालाको मुल गेट नजिक रहेको सेती नदीको पुल निर्माणको क्रममा रहेकाले जिल्ला खेलकुद विकास समिति कास्की उक्त गेट खुला गरेको हो ।


मुल गेटमा हुने सवारी चाप र पुल निर्माणको कामलाई मध्यनजर गरी गेट खुला गरिएको समितिका अध्यक्ष मिलन गुरूङले जानकारी दिए । एसओएसतर्फको उक्त गेट खुला गर्दा रंगशाला प्रवेश गर्ने खेलाडीसँगै खेलप्रेमी सबैका लागि सहज हुने समितिले विश्वास लिएको छ ।


‘अहिले उत्तरतर्फको मुख्य गेटको सडक खण्ड र पुल निर्माणको चरणमा छ । अत्याधिक चाप पनि छ । दुर्घटनाको जोखिमसमेत बढेकाले हामीले दक्षिणतर्फको गेट नं ६ खुलेका हौं,’ उनले भने । उक्त गेटमा सुरक्षाका लागि १ जना गार्ड व्यवस्थापन गरिएको अध्यक्ष गुरूङले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया