‘अपांगता योजना कागजमै सिमित’

समाधान संवाददाता २०८२ मंसिर १५ गते १६:३२

पोखरा ।
अपांगता भएका व्यक्तिहरुको ३४ औं अन्तराष्ट्रिय दिवसको अवसरमा पोखरामा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम भएको छ । अपांग महिला सशक्तिकरण केन्द्र कास्कीको आयोजनामा र सञ्चारिका समुह गण्डकीको सहआयोजनामा कार्यक्रम गरिएको हो ।


सशक्तिकरण केन्द्र कास्कीका अध्यक्ष अञ्जना केसीले अपांगता भएका व्यक्तिका लागि बनाइएको योजना कार्यान्वयन नहुनु चुनौतीको रुपमा रहेको बताइन् । घोषणा गरिएको योजनाहरु पुरा नहुने उनले गुनासो पोखिन् । अधिकार सुनिश्चितताका लागि आफै अग्रसर हुनुपर्नेमा उनको जोड छ । अपाङगता भएका व्यक्तिका समस्या, आवश्यकतालाई अभियानको रुपमा लैजानुपर्ने केसीले बताइन् ।


अपांगता भएका व्यक्तिलाई समाजको मूलधारमा ल्याउन सरकार, सामाजिक संस्था र निजी क्षेत्रबीचको सहकार्य आवश्यकता रहेको स्वावलम्बन जीवन पद्धति केन्द्रका कार्यक्रम संयोजक दिनेश अधिकारीले औंल्याए ।

Advertisement


आर्थिक सशक्तीकरण, स्वास्थ्य, शिक्षा, र राजनीतिक सहभागिता जस्ता क्षेत्रहरूमा समान पहुँच सुनिश्चित गर्न सकेमा समावेशी समाजको निर्माण गर्न सकिने उनले बताए ।


उनीहरुलाई क्षमता अभिवृद्धि र आत्मनिर्भर हुने तालिम प्रदान गर्न सकेमा राहत पुग्ने उनले बताए । ‘अपांगता भएका व्यक्तिलाई सकारात्मक व्यवहार गर्नुपर्ने बताउँदै त्यसको लागि सोचमा परिवर्तन ल्याउन आवश्यक छ,’ अधिकारीले भने ।

Advertisement


सञ्चारिका समुहकी अध्यक्ष कविता श्रेष्ठले अपांगता भएकारुको समावेशी र पहुँचयुक्त वातावरण सृजना गर्न सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने बताइन् । सञ्चारमाध्यमले अपांगता सम्बन्धि समाग्री प्रशारण गर्ने क्रममा संवेदनशिल हुनुुपर्ने उनको भनाइ छ ।


कार्यक्रममा सहभागीले अपांगता भएका व्यक्तिले पाउने सेवा सुविधा समान वितरण नहुने बताए । अपांगता भएका व्यक्तिका लागि विनियोजित स्वास्थ्य, शिक्षा, रोजगार तथा सामाजिक सुरक्षासम्बन्धी सुविधा कागजमै सीमित हुने, व्यवहारमा लागु नहुने उनीहरुको भनाइ छ ।


‘दैनिक जीवनमा विभिन्न समस्याहरु सामना गर्नुपर्छ, सार्वजनिक भवन, विद्यालय, अस्पताल तथा यातायातका साधनहरुमा अपांगता मैत्री पहुँच अभाव छ, समाजमा हुने दुव्र्यवहारले काम गर्न सक्ने अवस्था छैन,’ उनीहरुले भने ।

तपाईको प्रतिक्रिया