राष्ट्रिय औद्योगिक व्यापार मेला

खस्किएको व्यावसायिक मनोबल उकास्ने प्रयास

समाधान संवाददाता २०८२ मंसिर १५ गते १९:२४

पोखरा
जेन–जी आन्दोलनका क्रममा निजी क्षेत्रमाथि भएको आक्रमणले व्यवसायीहरूको मनोबल निकै खस्काएको छ । यही निराशालाई चिर्दै र खल्बलिएको व्यावसायिक वातावरणलाई लयमा फर्काउने उद्देश्यका साथ पोखरामा ‘नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२’ आयोजना हुँदैछ ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले सोमबार मेलास्थलमा आयोजित पत्रकार सम्मेलनमा यही मंसिर १७ गतेबाट पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा सुरु हुने मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

‘निजी क्षेत्रमाथि भएको आक्रमणपछि खल्बलिएको व्यावसायिक वातावरणलाई पुनः पुरानै अवस्थामा फर्काउनु, उद्योगी व्यवसायीको मनोबल बढाउनु तथा लगानीका नयाँ सम्भावनाको खोजी गर्नु नै मेलाको मुख्य उद्देश्य हो,’ अध्यक्ष कार्कीले भने, ‘प्रदर्शनी केन्द्रमा खुला ठाउँ कम भए पनि हाम्रो उत्साहमा कुनै कमी छैन । मेला ‘लगानीको संवर्द्धन र उद्योग व्यवसायको प्रवर्द्धन’ भन्ने मान्यतामै टिकेर अगाडि बढ्नेछ ।’

Advertisement

बुधबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्ने मेलामा सूचना प्रविधिका नयाँ उत्पादन, घरायसी सामान, स्वदेशी हस्तकला, महिला उद्यमीका उत्पादन, अटो र औद्योगिक उत्पादनहरू रहनेछन् । मेला मंसिर २१ गतेसम्म चल्नेछ ।

मेला केवल व्यापारमा मात्र सीमित हुने छैन । अध्यक्ष कार्कीका अनुसार उद्यमशीलता र व्यावसायिक वातावरण निर्माणका लागि नीतिगत पैरवी गर्न मेलास्थलमै कृषि, पर्यटन र सरकारका आर्थिक नीतिबारे बहसमूलक कार्यक्रमहरू पनि सञ्चालन गरिनेछ ।

Advertisement

२०४२ सालदेखिको मेला आयोजनाको परम्परालाई निरन्तरता दिँदै यसपटक नेपाल मणिपाल अस्पताल मुख्य सहयोगीको रूपमा जोडिएको छ । अध्यक्ष कार्कीले पोखरालाई स्वास्थ्य पर्यटनको केन्द्र बनाउन सकिने सम्भावनालाई यस सहकार्यले पुष्टि गरेको दाबी गरे ।

मेलाको सह–आयोजक कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) कास्की रहेको छ । क्यान कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले मेलामार्फत नयाँ युगको आवश्यकता सम्बोधन गर्ने प्रयत्न गरिने र सूचना प्रविधिका नवीनतम उत्पादनहरू प्रदर्शनीमा राखिने बताए ।

संघकी महासचिव शोभा गौतमले मेलालाई उत्पादक र उपभोक्ताबीचको प्रत्यक्ष भेटघाटको थलोका रूपमा लिँदै यस क्षेत्रको मौलिक संस्कृति प्रदर्शन गरिने जानकारी दिइन् ।

नेपाल उद्योग वाणिज्य महासंघ र महासंघ गण्डकी प्रदेश संरक्षक रहेको मेलाको मुख्य प्रवर्द्धक पोखरा महानगरपालिका हो भने गण्डकी प्रदेश सरकार र नेपाल पर्यटन बोर्ड प्रवर्द्धकका रूपमा छन् । ग्लोबल आइएमई बैंक सह–प्रायोजक रहेको मेलालाई टुबोर्ग बियर, सोल्टी पानी, पोखरा इन्टरनेट, कुमारी गोल्ड, युनाइटेड अजोड इन्स्योरेन्स, मुक्तिनाथ विकास बैंक लगायत दुई दर्जनभन्दा बढी व्यावसायिक प्रतिष्ठानहरूले सघाएका छन् ।

पत्रकार सम्मेलनमा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं नेपाल मणिपाल अस्पतालका लियाजन अफिसर कृष्णमोहन श्रेष्ठले नेपालकै पुरानो संस्थागत मेलासँग मणिपालको सहकार्यले पोखरालाई स्वास्थ्यको हब बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया