बैकुण्ठ अर्याल सचिवमा बढुवा

समाधान संवाददाता २०८२ मंसिर १५ गते १९:४०

पोखरा । सरकारले नेपाल प्रशासन सेवाका वरिष्ठ सहसचिव बैकुण्ठ प्रसाद अर्याललाई विशिष्ट श्रेणी (सचिव) पदमा बढुवा गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । बढुवा समितिले गरेको सिफारिसका आधारमा अर्याललाई सचिव बनाउने निर्णय गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

को हुन् नवनियुक्त सचिव अर्याल ?
शिक्षा प्रशासन समूह (क्याडर) बाट निजामती सेवामा प्रवेश गरेका अर्याल एक अनुभवी प्रशासक मानिन्छन् । हाल उनी सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कायममुकायम (कामु) प्रमुख सचिवको जिम्मेवारी सम्हालिरहेका छन् ।

Advertisement

निजामती सेवामा लामो अनुभव संगालेका अर्यालको गण्डकी प्रदेशसँग पनि विशेष सम्बन्ध रहेको छ । उनी यसअघि गण्डकी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा सचिवका रूपमा कार्यरत थिए । तत्कालीन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारका पालामा उनले गण्डकीको अर्थ मन्त्रालयको प्रशासनिक नेतृत्व सम्हालेका थिए ।

त्यसबेला गण्डकीका अर्थमन्त्री माओवादीका रामजी बराल ‘जीवन’ थिए । बजेट निर्माण र कार्यान्वयनमा दख्खल राख्ने अर्यालले गण्डकीमा रहँदा संघीयता कार्यान्वयन र आर्थिक अनुशासन कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताइन्छ ।

Advertisement

शिक्षा सेवाबाट आएर प्रशासनमा अब्बल ठहरिएका अर्यालको बढुवासँगै अब उनको पदस्थापन कुन मन्त्रालय वा निकायमा हुन्छ भन्नेबारे सरकारले छिट्टै निर्णय गर्ने जनाइएको छ । लोक सेवा आयोगका अध्यक्षको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठता र कार्यसम्पादनका आधारमा अर्यालको नाम सिफारिस गरेको थियो ।

तपाईको प्रतिक्रिया