२१ औं लेखनाथ महोत्सवमा : सुरक्षामा कुनै कसर नराख्ने सिडिओ र प्रहरी प्रमुखको प्रतिबद्धता

समाधान संवाददाता २०८२ मंसिर १६ गते ५:३०

लेखनाथ ।

आगामी पुस ३ देखि १४ गतेसम्म आयोजना हुने २१ औं संस्करणको लेखनाथ महोत्सवलाई सफल बनाउन कास्कीका सुरक्षा निकायले पूर्ण साथ दिने भएका छन् । सोमबार लेखनाथ उद्योग वाणिज्य संघमा आयोजित छलफलमा सुरक्षा प्रमुखहरूले महोत्सवलाई सुरक्षित र व्यवस्थित बनाउने प्रतिबद्धता जनाएका हुन् ।

Advertisement

कास्कीकी प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रादेवी शर्माले लेखनाथ महोत्सवले ‘महोत्सवहरूको पनि महोत्सव’ का रूपमा चर्चा कमाएको बताइन् । उनले महोत्सवलाई थप उत्कृष्ट बनाउन र प्रभावकारी सुरक्षाको प्रत्याभूति गराउन प्रशासनको पूर्ण साथ रहने प्रतिबद्धता व्यक्त गरिन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीले सुरक्षाका लागि समन्वय गर्न प्रहरी तत्पर रहेको बताए । उनले सुरक्षा व्यवस्था चुस्त बनाउन संवेदनशील सूचनाको आदानप्रदान, स्वयंसेवक परिचालन, सिसिटिभी तथा पार्किङ व्यवस्थापन र मदिराजन्य पदार्थको बिक्री वितरणमा आयोजकले पनि विशेष ध्यान दिनुपर्ने सुझाव दिए ।

Advertisement

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख एसपी दानबहादुर थापाले महोत्सवले सफलताको उचाइ हासिल गरिसकेको बताए । उनले अबका दिनमा महोत्सवको गुणात्मकता वृद्धिमा ध्यान दिनुपर्ने सुझाव राखे ।

कार्यक्रममा संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले अहिलेको विषम परिस्थितिमा सुस्त रहेको अर्थतन्त्रलाई चलायमान गराउन महोत्सव आयोजना गर्नु आफैंमा चुनौतीपूर्ण रहेको बताइन् । उनले महोत्सव सफल बनाउन विगतदेखि नै सुरक्षा निकायले खेलेको भूमिकाको प्रशंसा गर्दै यसपटक पनि सोही अनुरूपको सहयोग र सहकार्यको अपेक्षा गरिन् ।

छलफलमा इलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख गुरुदत्त ढकाल, सशस्त्र प्रहरी कालिका गणका एसपी सूर्यप्रसाद तिमल्सेना, राष्ट्रिय अनुसन्धान विभाग कास्कीका उप–अनुसन्धान निर्देशक मोहनबहादुर कुँवर, संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, पूर्वअध्यक्षहरू तथा महोत्सवका विभिन्न उप–समितिका संयोजकहरूको उपस्थिति थियो ।

संघका महासचिव भरतराज ओझाले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बाँस्तोलाले धन्यवाद ज्ञापन गरेका थिए ।

तपाईको प्रतिक्रिया