मुस्ताङमा चिसोको कहर : बालबालिकामा निमोनियाको संक्रमण बढ्यो, अस्पतालमा शय्या अभाव

मुस्ताङ ।
हिउँदयाम सुरु भएसँगै बढेको अत्यधिक चिसोका कारण मुस्ताङमा बालबालिकाको स्वास्थ्यमा गम्भीर असर देखिएको छ । चिसोका कारण यहाँका बालबालिका रुघाखोकी र निमोनियाजस्ता समस्याबाट ग्रसित बनेका छन् । प्रादेशिक अस्पताल जोमसोममा यस्ता बिरामीको चाप बढेको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. समीक्षा कँडेलका अनुसार अस्पतालमा भर्ना भएर उपचार गराउनेमध्ये ८० प्रतिशतभन्दा बढी बालबालिका छन् । चिसोबाट बच्न विशेष सावधानी नअपनाउँदा बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएका हुन् । बिरामीको चाप बढेसँगै १५ शय्याको उक्त अस्पतालमा शय्या अभाव हुन थालेको छ ।
अस्पतालको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरको दोस्रो सातासम्म बिरामी भएर भर्ना हुने बालबालिकाको संख्या करिब ७० प्रतिशतले बढेको छ । साउनमा १८, भदौमा ३७, असोजमा ३७ र कात्तिकमा ४८ जना बिरामी भर्ना भएका थिए । मंसिर १५ गतेसम्म मात्रै २८ जना बिरामी भर्ना भई सेवा लिएका छन् ।
बहिरंग (ओपिडी) सेवा लिनेको संख्या पनि उल्लेख्य छ । साउनमा ७४९, भदौमा ६०९, असोजमा ५७० र कात्तिकमा ४८८ जनाले ओपिडी सेवा लिएको अस्पतालले जनाएको छ । अस्पतालमा आउने बिरामीमा रुघाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या हुने, स्वाँस्वाँ हुने, छाती घ्यारघ्यार हुने र ज्वरो आउने जस्ता लक्षण देखिएको छ । रुघाखोकी, ज्वरो र निमोनियाको समस्या लिएर आउनेमध्ये ८० प्रतिशत बिरामी १० वर्षमुनिका बालबालिका छन् ।
डा. कँडेलले रुघाखोकी र निमोनियाको लक्षण देखिनासाथ अस्पताल वा स्वास्थ्य संस्थामा जचाउन सुझाव दिएकी छन् । चिसोबाट बच्न दाउरा, कोइला, गिजर वा हिटर प्रयोग गर्दा कोठामा हावा छिर्ने गरी ‘भेन्टिलेसन’ खुला राख्न उनले आग्रह गरिन् । तातोपानी पिउने तथा झोलिलो र पोषणयुक्त खानेकुरा खान पनि उनले सुझाव दिइन् ।
अत्यधिक चिसो बढेपछि माथिल्लो मुस्ताङका विद्यालयहरू भने जाडो छल्न बेँसी झरेका छन् । बालबालिकालाई चिसोबाट जोगाउन सुरक्षित स्थान खोज्दै तल्लो क्षेत्रमा सारिएको हो । तर बारागुङ, घरपझोङ र थासाङ गाउँपालिकाका शैक्षिक संस्था भने सञ्चालनमै छन् । रासस









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया