कांग्रेसको महाधिवेशन तालिकामाथि कास्की सभापतिको प्रश्न– ‘५१ प्रतिशत नपुगे दोस्रो चरण कहिले गर्ने ?’

समाधान संवाददाता २०८२ मंसिर १६ गते ५:५४

पोखरा ।

नेपाली कांग्रेसले हतारमा १५ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेपछि पार्टीभित्रैबाट यसको व्यावहारिकताबारे प्रश्न उठ्न थालेको छ । कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले केन्द्रीय समितिबाट पारित कार्यतालिका ‘अव्यावहारिक’ भएको भन्दै कटाक्ष गरेका छन् । उनले सार्वजनिक कार्यतालिकाले महाधिवेशन सम्पन्न गर्ने भन्दा पनि अन्योल सिर्जना गर्ने दिशातर्फ संकेत गरेको टिप्पणी गरेका छन् ।

Advertisement

केन्द्रीय समितिले सोमबार मात्रै आगामी पुस २६ देखि २८ गतेसम्म केन्द्रिय महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर जिल्ला सभापति बरालले भने तल्लो तहको अधिवेशन र प्रदेश अधिवेशनबिचको समय सीमालाई लिएर नेतृत्वको आलोचना गरेका छन् । उनले एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन पुस २१ गते र एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन पुस २२ गते तोकिएको तर प्रदेश अधिवेशन पुस २३ गते राखिएको विषयमा गम्भीर प्रश्न उठाएका छन् । कांग्रेसको विधानअनुसार निर्वाचित हुन ५१ प्रतिशत मत ल्याउनुपर्छ । सभापति बरालले यदि जिल्ला अधिवेशनको पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नपाएमा दोस्रो चरणको निर्वाचन कहिले गर्ने भन्ने प्रश्न तेर्स्याएका छन् ।

मतगणना प्रक्रियामा लाग्ने समयको ख्यालै नगरी कार्यतालिका ल्याइएको उनको आरोप छ । सबै ठाउँमा विद्युतीय भोटिङ मेसिनको प्रयोग सम्भव नहुने र मतपत्र गन्दा लामो समय लाग्ने भन्दै उनले पुस २२ गते जिल्लाको चुनाव गरेर पुस २३ गते प्रदेश अधिवेशनमा कसरी भाग लिन सकिन्छ भन्दै आश्चर्य प्रकट गरेका छन् । यो समय–रेखा र प्रक्रिया हेर्दा कार्यतालिकाले महाधिवेशन सुनिश्चित गर्नेभन्दा पनि शंका उत्पन्न गराएको बरालको तर्क छ । उनले तत्काल यो त्रुटि सच्याउन नेतृत्वसँग माग गरेका छन् ।

Advertisement

कांग्रेसले तय गरेको कार्यतालिका अनुसार गाउँ, नगर र वडा अधिवेशन पुस १६ गते र गाउँ–नगरपालिका अधिवेशन पुस १७ गते हुनेछ । यस्तै प्रदेश सभा क्षेत्रीय अधिवेशन पुस १९ गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन पुस २१ गते तथा सातवटै प्रदेशको अधिवेशन पुस २३ र २४ गते सम्पन्न गर्ने निर्णय भएको छ । केन्द्रले मंसिर २० गतेभित्र नयाँ क्रियाशील सदस्यता वितरण गरिसक्ने र पुस १४ गतेभित्र अन्तिम सूची बुझाउने समयसीमा तोकेको छ । तर जिल्ला तहमा खटिने नेताहरूले भने सास फेर्ने समय समेत नराखी ल्याइएको कार्यतालिका संशोधन नभए दुर्घटना हुन सक्ने चेतावनी दिएका छन् ।

तपाईको प्रतिक्रिया