‘बाबालाई कस्ले गोली हान्यो ?’ छोराको प्रश्नले झस्काउँछ जानतीलाई

समाधान संवाददाता २०८२ मंसिर १६ गते १४:१२

सुरुङ्गा (झापा)

Advertisement

‘ममी, बाबालाई कसले गोली हान्यो होला ? नहान्दा पनि हुन्थ्यो नि ?’ ६ वर्षीय छोरा रिदमले सोध्ने यो प्रश्नले ३० वर्षीया जानती राजवंशीलाई सधैं झस्काइरहन्छ । गत भदौमा बिर्तामोडमा भएको ‘जेनजी’ आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका सहिद दिनेश राजवंशीकी श्रीमती जानतीसँग छोराको यो प्रश्नको कुनै जवाफ छैन ।

झापाको अर्जुनधारा नगरपालिका–८ हात्तीकिल्लाका ३२ वर्षीय दिनेश राजवंशीको निधन भएको तीन महिना बितिसक्दा पनि उनको परिवार शोकबाट तङ्ग्रिन सकेको छैन । भदौ २४ गते बिर्तामोडमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका दिनेशको विएन्डसी अस्पतालमा उपचारका क्रममा भदौ २७ गते निधन भएको थियो ।

Advertisement

दिनेशको निधनपछि घरको मुली गुमाएको राजवंशी परिवार अहिले अभिभावकविहीन जस्तै बनेको छ । १३ महिनाकी छोरी दिपीका र ६ वर्षीय छोरा रिदमको भविष्यको चिन्ताले जानतीलाई सधैं पिरोलिरहन्छ । मोबाइलमा आन्दोलनको भिडियो देख्दा छोरा रिदमले ‘अरूका बाबा बाँचेका छन्, हाम्रो बाबा पनि बाँचेको भए सँगै खेल्थ्यौँ’ भन्दै दुखेसो पोख्ने गरेको जानतीले सुनाइन् । ‘म आमा हुँ, उसको कुराले मन कति चिरिन्छ होला शब्दमा व्यक्त गर्न गाह्रो हुन्छ,’ उनले भनिन् ।

वैदेशिक रोजगारीका शिलशिलामा दुई वर्ष कतार बसेर फर्किएका दिनेशले स्वदेशमै केही गर्ने सपना बुनेका थिए । कतारको कमाइले घर बनाएका उनले शनिश्चरेमा मासु पसल सञ्चालन गरिरहेका थिए । तीन वर्षअघि बुबा मङ्गलुको निधन भएपछि घरको सम्पूर्ण जिम्मेवारी दिनेशकै काँधमा थियो ।

Advertisement

घटनाको दिन सम्झिँदै जानतीले भनिन्, ‘कान्छी म बिर्तामोड गएर आउँछु, मल पनि बुझ्छु, दोकान खोल्ने माहोल छ छैन त्यो पनि हेर्छु, नानीबाबुलाई खुवाएर तिमी पनि खाना खानु है भनेर जानुभएको थियो । उहाँले बोलेको अन्तिम शब्द यही हो ।’ श्रीमानको निधनपछि आफ्नो सिउँदो मात्र नभई घर नै भताभुङ्ग भएको उनले दुखेसो पोखिन् ।

दिनेशकी ५५ वर्षीया आमा सपना छोराको वियोगमा अझै निस्तब्ध छिन् । ‘कान्छालाई दशाले बिर्तामोड पुर्‍यायो । गाउँघरमा सानोतिनो झगडा हुँदा त नजाने मेरो छोरो कसरी त्यहाँ गयो ?’ आमा सपनाले भनिन्, ‘अब कान्छो फर्किंदैन भन्ने थाहा छ, तर बाटामा कोही हिँडेको देख्दा पनि उसकै झल्को आउँछ ।’

दिनेशको निधनपछि सरकारले उनलाई सहिद घोषणा गर्दै परिवारलाई १५ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ । स्थानीय संस्थाहरूले पनि केही सहयोग गरेका छन् भने अर्जुनधारा नगरपालिकाले छोराछोरीलाई कक्षा १२ सम्म निःशुल्क पढाउने बचन दिएको छ । तर, जानतीलाई पैसाले मात्र भविष्य सुरक्षित नहुने चिन्ता छ । ‘मान्छे नै नरहेपछि पैसाले मात्र के हुँदो रहेछ र ?’ उनले भनिन्, ‘राज्यले छोराछोरीको निःशुल्क शिक्षा, स्वास्थ्य र पालनपोषणको जिम्मा लिनुपर्छ । परिवारलाई आत्मनिर्भर हुन रोजगारीको व्यवस्था गरिदिनुपर्छ ।’

दिनेशको मृत्युपछि परिवारको आर्थिक अवस्था कमजोर बनेको छ । मासु पसल बन्द भएको छ । ठेक्कामा लिएको धान खेती स्याहार्न जानतीलाई हम्मेहम्मे परेको छ । सासू र ससाना छोराछोरीको हेरचाह गर्दै खेतीपाती सम्हाल्न मुस्किल भएको उनले बताइन् ।

दिनेशको काजकिरिया गर्न विदेशबाट आएका दाजु गोवद्र्धन पनि कर्मकाण्ड सकेर पुनः विदेश फर्किएका छन् । दाजु विदेश फर्किएपछि परिवारमा थप सन्नाटा छाएको छ । छिमेकीहरूले ‘राम्रो मान्छेको आयु छोटो हुन्छ’ भन्दै सान्त्वना दिने गरे पनि जानतीको मन बुझ्न सकेको छैन । रासस

तपाईको प्रतिक्रिया