महाधिवेशनसँगै कांग्रेस चुनावी प्रचारमा, पुस २६ देखि १५औँ महाधिवेशन

काडमाडौं ।
नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यसमितिको सोमबार बसेको बैठकले लामो रस्साकस्सीपछि नियमित महाधिवेशनमा जाने सहमति जुटाएको हो । आगामी फागुन २१ गते हुन लागेको आमनिर्वाचन अघि वा पछि महाधिवेशन गर्ने भन्ने विवाद टुङ्ग्याउँदै कांग्रेसले चुनाव अघि नै महाधिवेशन गर्ने निर्णय गरेको छ ।
पार्टीभित्र संस्थापन र इतर पक्षबिच महाधिवेशनको समयलाई लिएर डेढ महिनादेखि बहस चलिरहेको थियो । अब कांग्रेसले क्रियाशील सदस्यता वितरण र वडादेखि जिल्ला तहसम्मका अधिवेशनलाई चुनावी अभियानकै रूपमा उपयोग गर्ने भएको छ ।
महामन्त्री विश्वप्रकाश शर्माले सर्वसम्मत रूपमा महाधिवेशनको मिति तय हुनुले पार्टीलाई बदलिएको समय अनुसार अघि बढाउने बाटो खुलेको बताए । उनले भने, ‘कांग्रेस अब महाधिवेशनसँगै निर्वाचनको कुरालाई पनि सँगै लिएर गाउँ जान्छ । हामी बदलिएर आउँदै छौँ र मत लिनका लागि पनि आउँदै छौँ भन्ने अभियान सँगसँगै सुरु हुन्छ ।’ अहिलेको ‘जेनजी’ आन्दोलनको परिवर्तनप्रति कांग्रेसको धारणा स्पष्ट पार्दै आफूलाई नयाँ बनाउने सन्देश दिन चाहेको शर्माले बताए । महाधिवेशन र निर्वाचनको अभियानले संविधानलाई ‘ट्र्याक’ मा ल्याउन मद्दत पुग्ने उनको विश्वास छ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले मङ्सिर २३ गते सकिन लागेको कार्यसमितिको म्याद दुई महिना थप गरेको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मङ्सिर २० गतेभित्र केन्द्रबाट नयाँ क्रियाशील फारम वितरण गरिनेछ भने मङ्सिर २४ भित्र वडा तहसम्म फारम पठाइनेछ ।
सार्वजनिक कार्यतालिका अनुसार पुस १५ भित्र जनसम्पर्क समितिको अधिवेशन, पुस १६ गते वडा, पुस १७ गते पालिका, पुस १९ गते प्रदेशसभा क्षेत्रीय, पुस २१ गते प्रतिनिधिसभा क्षेत्रीय तथा एक निर्वाचन क्षेत्र भएका जिल्ला, पुस २२ गते बहुनिर्वाचन क्षेत्र भएका जिल्ला र पुस २३–२४ गते प्रदेश अधिवेशन गरिनेछ ।
गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा निवासमै भएको आक्रमणमा परी गम्भीर घाइते भएका थिए । स्वास्थ्य समस्याका कारण देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन् । सोही आन्दोलनपछि असोज २८ देखि सुरु भएको बैठकमा संस्थापन इतर पक्षले विशेष महाधिवेशनको माग गर्दै ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर बुझाएको थियो ।
बैठकले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन र फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई निर्देशन दिने निर्णय पनि गरेको छ । कार्यवाहक सभापति खड्काले सभापति देउवाको सुझाव र लामो छलफलपछि सर्वसम्मति जुटेको भन्दै यसले पार्टी एकढिक्का छ भन्ने सन्देश दिएको बताए । रासस









फु गाउँको गोरेटो बाटो स्तरोन्नति
२ वर्षमा सक्नुपर्ने काम ६ वर्षमा ६५ प्रतिशत मात्रै
बागलुङमा २१५ जनामा एचआइभी सङ्क्रमण
पोखराका अग्रज पत्रकार रुद्र थापालाई पत्नी शोक
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया