‘पहिले राजनीति ठीक हुनुपर्छ, तब पर्यटन उठ्छ’

समाधान संवाददाता २०८२ मंसिर १६ गते १८:०९

(पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हुन नसक्नुमा अहिले ‘जियो–पोलिटिकल मुख्य चुनौती’ रहेको टिप्पणी गरे)

पोखरा ।

Advertisement


गतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष दिनेशराज प्रसाईंले राजनीतिक स्थिरता र संरचनागत सुधारलाई अर्थतन्त्र उद्धारको पहिलो पाइला बताएका छन् । मंगलबार पोखरामा आयोजित ‘पर्यटनमय अर्थतन्त्र’ विषयक भेलामा बोल्दै उनले २०८४ सालको निर्वाचनमा आफ्नो पार्टी सक्रियतापूर्वक सहभागी हुने स्पष्ट संकेत पनि दिए ।


प्रसाईंले नेपाल प्रजापरिषद् गठनपछिदेखि हालसम्म देशले करिब १० ठूला राजनीतिक आन्दोलन व्यहोरेको उल्लेख गर्दै ‘हरेक चक्र झन् हिंसात्मक हुँदै गएको’ बताए । ‘माओवादी आन्दोलन अत्यन्त हिंसात्मक थियो । पछिल्ला आन्दोलनहरूले त व्यक्तिगत आक्रमणदेखि सिंहदरबार, अदालत, निजी क्षेत्रसम्म जलेका उदाहरण देखिए,’ उनले भने ।

Advertisement


आन्दोलन दोहोरिनुको मुख्य कारण ‘संरचनागत सुधारमा निरन्तर असफलता’ रहेको बताउँदै प्रसाईंले पुराना सत्तासम्मत शैलीले अब काम नगर्ने दाबी गरे । उनका अनुसार वर्षेनि ४÷५ लाख युवा श्रम बजारमा प्रवेश गरे पनि रोजगारी नपाउँदा उनीहरू निराश र आक्रोशित भइरहेका छन् । ‘यदि अब पनि सुधार भएन भने एक पुस्ताले अर्को पुस्तालाई जलाउने चक्र अनन्तसम्म दोहोरिन्छ,’ उनले भने ।


पर्यटन क्षेत्रलाई ‘सबैभन्दा संवेदनशील र जोखिमपूर्ण क्षेत्र’ को रूपमा व्याख्या गर्दै प्रसाईंले औपचारिक रूपमा देखिने १०÷१२ लाख पर्यटकमध्ये ‘क्वालिटी पर्यटक’ २–३ लाख मात्रै रहेको तथ्य सुनाए । ‘पोखरामा अर्बौंको लगानी छ तर प्रतिफल छैन । अस्थिरता, भूकम्प, महामारीदेखि आन्दोलनसम्म सबैले पर्यटनलाई नै सबैभन्दा धेरै मार्छ,’ उनले भने । उनले पछिल्लो पाँच वर्षमा आईटी क्षेत्रबाट आउने डलर पर्यटनको तुलनामा तीनगुना पुगेको उल्लेख गर्दै पर्यटनसँगै आईटी र सेवा क्षेत्रमा लगानी बढाउनुपर्ने सुझाव दिए ।


पार्टीका केन्द्रीय सदस्य विरेन्द्रबहादुर बस्नेतले नेपालको पर्यटन उद्योगलाई दीर्घकालीन गतिमा अघि बढाउन ‘भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई महादेशीय उडानको प्रमुख गेटवे’ बनाउनुपर्नेमा जोड दिए । बस्नेतका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) ले लामो दुरीका ठूला वाइड–बडी जहाज उडाउन नसक्ने भएकाले ‘टीआईए क्षेत्रीय विमानस्थल’ को परिभाषा भित्रै सीमित छ । उनले एयरबसका प्राविधिक तथा इन्जिनियरसँगको अध्ययनलाई उद्धृत गर्दै भैरहवाबाट बिना लोड पेनाल्टी अमेरिकादेखि क्यानडा, जापान तथा दक्षिण–पूर्व एसियासम्म महादेशीय उडान सम्भव रहेको जानकारी दिए ।


‘एक वाइड–बडी जहाज वर्षमा झन्डै एक लाख यात्रु ओसार्न सक्छ । पाँच जहाज थपे नेपालले ५ लाखभन्दा बढी पर्यटक वार्षिक रूपमा ल्याउन सक्छ,’ बस्नेतले भने । नेपाल एयरलाइन्सलाई आधुनिक बनाउनै महादेशीय उडान विस्तारको मूल आधार रहेको बताउँदै उनले इथियोपियन एयरलाइन्सको मोडेल उदाहरण दिए ।


‘जहाज प्रत्यक्ष खरिद होइन, १०–१५ प्रतिशत डिपोजिट राखेर लिज–खरिद मोडेल अपनाउनुपर्ने हो,’ उनका अनुसार ३५०–१००० श्रृंखलाका जहाजमा पनि करिब ६ प्रतिशत नेट नाफा सुरक्षित हुने एयरबस अध्ययनले देखाएको छ ।
विदेशी उडान भाडा विश्वकै महँगो रहेको उल्लेख गर्दै बस्नेतले महादेशीय उडानबिना ‘नेपालको पर्यटक संख्या १०–११ लाखमै सीमित रहन्छ’ भने । ‘भैरहवा पूर्ण रूपमा चले नेपालमा वर्षेनि २०, ३०, ७०, ८० लाख पर्यटक भित्र्याउन सकिन्छ,’ उनले भने ।


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हुन नसक्नुमा अहिले ‘जियो–पोलिटिकल मुख्य चुनौती’ रहेको टिप्पणी गरे ।

तपाईको प्रतिक्रिया