बागलुङको शालग्राम संग्रहालयमा पर्यटकको घुइँचो

बागलुङ ।
बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालग्राम संग्रहालय यतिबेला धार्मिक पर्यटकको रोजाइमा परेको छ । मानव निर्मित सुरुङभित्र सवा १ लाख शालग्राम शिला एकैपटक देख्न सकिने भएपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको हो ।
विशेष गरी मुस्ताङ भ्रमणमा निस्किएका पर्यटकहरूले यो संग्रहालयलाई गन्तव्य बनाउने गरेका छन् । पछिल्लो समय यहाँ दैनिक औसत ३०० पर्यटकले अवलोकन गर्ने गरेका छन् । सार्वजनिक बिदाको दिन भने यो संख्या १ हजार नाघ्ने गरेको छ ।
संग्रहालयका संरक्षक ऋषि स्वामी प्रपन्नाचार्यका अनुसार पछिल्लो ४ महिनामा मात्रै २५ हजारभन्दा बढी पर्यटकले संग्रहालय अवलोकन गरिसकेका छन् । गत वर्ष झन्डै २ लाख पर्यटक यहाँ आएका थिए । संग्रहालय ५ वर्षअघि सर्वसाधारणका लागि खुला गरिएको थियो ।
यहाँ १०० मिटर लामो सुरुङभित्र शालग्राम शिला संरक्षण गरेर राखिएको छ । त्रिशूल आकारको सुरुङभित्र त्रिवेणीधामदेखि दामोदरकुण्डसम्मको नक्सा र विभिन्न मठमन्दिरका आकृति बनाइएको छ । संग्रहालयमा ३०० किलो तौलसम्मका शालग्राम देख्न पाइन्छ ।
स्वामी प्रपन्नाचार्यले नेपालीसहित भारतीय पर्यटकको समेत आकर्षण बढेको बताए । ‘सुरुमा खासै पर्यटकको आगमन हुन सकेको थिएन, तर पछिल्लो समय आगन्तुकको संख्या बढ्दै गएको छ,’ उनले भने, ‘अहिले सार्वजनिक बिदामा १ हजारभन्दा बढी पर्यटक यहाँ आउँछन्, अरू बेला पनि दुई–तीन सय आइरहेका छन् ।’
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बाट आएकी एलिना खनालले संग्रहालय धार्मिक रूपमा महत्त्वपूर्ण लागेको बताइन् । मुक्तिनाथ पुगेर फर्कने क्रममा यहाँ आएकी उनले भनिन्, ‘यति ठुलो संग्रहालयबारे मलाई थाहा थिएन, यहाँ आएर यति धेरै शालग्राम देख्न पाउँदा निकै खुसी लाग्यो ।’ कालीगण्डकीमा शालग्राम पाइन छाडेको अवस्थामा यहाँ संरक्षित देख्दा उनले खुसी व्यक्त गरिन् ।
चितवनबाट आएका टीकाराम पाठकले पनि संग्रहालयको व्यवस्थापनको तारिफ गरे । उनले दामोदरकुण्डदेखि त्रिवेणीधामसम्मको नक्साले आफूलाई आकर्षित गरेको सुनाए । संग्रहालय परिसरमा श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिर लगायतका थुप्रै धार्मिक संरचना निर्माण भएका छन् ।









सम्पादकीय—लेकसाइडमा सडकको सास्ती
प्रतिनिधिसभा निर्वाचनका लागि १०७ चुनाव चिह्न तय, कुन दललाई के ?
कांग्रेस कास्की–१ मा उम्मेदवार प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १२ र समानुपातिकमा ८ जनाको दाबी
गोरखा–२ बाट पूर्वउपरथी बाबुराम श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिने
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया