बेलायतमा ७ बालिका र १ महिलालाई बलात्कार गर्ने नेपालीलाई २५ वर्ष जेल सजाय

समाधान संवाददाता २०८२ मंसिर १७ गते १३:१६

काठमाडौं । बेलायतमा बसोबास गर्दै आएका एक नेपालीलाई ७ बालिका र १ महिलामाथि बलात्कार तथा यौन शोषण गरेको कसुरमा २५ वर्षको जेल सजाय सुनाइएको छ । पिटरबरोमा बस्ने ४९ वर्षीय प्रमोद ढकाललाई क्याम्ब्रिज क्राउन अदालतले यो सजाय तोकेको हो ।

ढकालले विगत १९ वर्षभन्दा लामो समयदेखि ती पीडितहरूमाथि पटकपटक बलात्कार तथा यौन दुराचार गरेको अदालतको ठहर छ । पीडितमध्ये एक जना वयस्क महिला हुन् भने अन्य ७ जना घटना हुँदा बालिका थिए । तीमध्ये सबैभन्दा कम उमेरकी बालिका जम्मा ८ वर्षकी थिइन् ।

सन् २०२३ को नोभेम्बरमा एक पीडितले आफ्नो परिवारसँग घटनाबारे बताएपछि ढकालको अपराध सार्वजनिक भएको थियो । त्यसलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको थियो । सुरुमा एक जनाले उजुरी गरे पनि अनुसन्धानका क्रममा अन्य पीडितहरू पनि खुलेका थिए ।

Advertisement

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पीडितहरूमध्ये ७ जना क्याम्ब्रिजसायर क्षेत्रका हुन् भने एक जना लन्डनकी हुन् । लामो समयसम्म कसैले आफ्नो कुरा विश्वास नगर्ने डरले पीडितहरूले घटनाबारे मुख नखोलेको बताइएको छ ।

नेपालमा काठमाडौं घर भएका ढकाल केही वर्षयता पिटरबरो क्षेत्रमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया