प्रभुपछि गुण समूहका राजेन्द्र शाक्य पनि बैंकिङ कसूरमा पक्राउ

समाधान संवाददाता २०८२ मंसिर १७ गते १४:३३

काठमाडौं । प्रभु समूहमाथि अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अर्को प्रतिष्ठित व्यावसायिक घराना गुण समूहका अध्यक्ष राजेन्द्र शाक्यलाई पक्राउ गरेको छ । बैंकिङ कसूरमा संलग्न रहेको आरोपमा गुण एयरलाइन्सका सञ्चालक शाक्यलाई बुधबार काठमाडौंको जावलाखेलबाट नियन्त्रणमा लिइएको हो ।

कुसुम लामा समेतको संलग्नता रहेको भनिएको ठगी, आपराधिक विश्वासघात र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा अनुसन्धान गर्दा शाक्यको नाम जोडिएको हो । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनले बैंकलाई हानी पुर्‍याउने गरी अनियमित कर्जा प्रवाह गरेको घटनाको अनुसन्धानका क्रममा शाक्यको संलग्नता खुलेको प्रहरीले जनाएको छ ।

Advertisement

सिआइबीको विज्ञ टोलीले गरेको तथ्य विश्लेषणमा विभिन्न कम्पनी खडा गरी करोडौं रुपैयाँ कर्जा दुरुपयोग भएको देखिएको छ । सोही आधारमा उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिएर शाक्यलाई नियन्त्रणमा लिइएको हो ।

सिआइबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठका अनुसार पक्राउ परेका शाक्यमाथि थप अनुसन्धान भइरहेको छ । यस प्रकरणमा प्रभु बैंकका सिइओ शेरचनसहित ३ जना यसअघि नै पक्राउ परिसकेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया