मुस्ताङमा स्याउको उत्पादन घट्यो, आम्दानी बढ्यो

मुस्ताङ ।
स्याउ उत्पादनले प्रसिद्ध हिमाली जिल्ला मुस्ताङमा यस वर्ष स्याउ उत्पादन घटे पनि यहाँका किसानले स्याउ बिक्री गरेर आम्दानी भने बढाएका छन् ।
गत वर्षको तुलनामा यस वर्ष ८ दशमलव ९७ प्रतिशतले स्याउ उत्पादनमा ह्रास आए पनि बजारीकरणबाट १६ करोड ५३ लाख रुपैयाँ बढी आम्दानी भएको कृषि तथा पशु विकास कार्यालयले जनाएको छ ।
कृषि तथा पशु विकास कार्यालयका प्रमुख राजेश गुरुङका अनुसार गत वर्ष स्थानीय र हाइब्रिड स्याउको औसत ‘फार्म गेट’ मूल्य प्रतिकिलो १ सय ५५ रुपैयाँ रहेकामा यस वर्ष बढेर १ सय ८५ रुपैयाँ पुगेको छ । जसका कारण उत्पादन घटे पनि आम्दानीमा वृद्धि भएको हो ।
उत्पादनको अवस्था
गत वर्ष मुस्ताङमा ७ हजार ३ सय २८ मेट्रिक टन स्याउ उत्पादन भएकामा यस वर्ष ६ हजार ६ सय ८४ मेट्रिक टन मात्र उत्पादन भएको छ । तथ्यांकअनुसार गत वर्षको तुलनामा यस वर्ष ६ सय ४४ मेट्रिक टन कम स्याउ फलेको हो ।
कार्यालय प्रमुख गुरुङका अनुसार स्थानीय जातको स्याउ उत्पादनमा कमी आए पनि उच्च घनत्व प्रविधिमा आधारित (हाइब्रिड) स्याउको उत्पादनमा भने असर परेको छैन । गत वर्ष स्थानीय जातको स्याउ ६ हजार ७८ मेट्रिक टन र हाइब्रिड १ हजार २ सय ५० मेट्रिक टन उत्पादन भएको थियो ।
यस वर्ष स्थानीय जातको स्याउ ५ हजार २ सय ५९ मेट्रिक टन र हाइब्रिड १ हजार ४ सय २४ मेट्रिक टन उत्पादन भएको छ । यसको अर्थ, स्थानीय स्याउ ८ सय १९ मेट्रिक टन कम फल्दा हाइब्रिड स्याउ भने १ सय ७४ मेट्रिक टन बढी फलेको छ ।
आम्दानीको हिसाब
यस वर्ष मुस्ताङमा उत्पादित ९० प्रतिशत स्याउ जिल्ला बाहिर निर्यात हुँदा ९९ करोड २१ लाख ३३ हजार रुपैयाँ आम्दानी भएको छ । गत वर्ष सोही परिमाणमा निर्यात हुँदा ८२ करोड ६८ लाख रुपैयाँ आम्दानी भएको थियो ।
गत वर्ष स्थानीय स्याउ निर्यातबाट ६० करोड १८ लाख र हाइब्रिडबाट २२ करोड २५ लाख ५ हजार रुपैयाँ आम्दानी भएको थियो । यस वर्ष भने स्थानीय स्याउबाट ७१ करोड ७३ हजार रुपैयाँ आम्दानी भएको छ । गत वर्षभन्दा यस वर्ष स्थानीय स्याउ बिक्रीबाट १० करोड ८२ लाख र हाइब्रिड स्याउ बिक्रीबाट ५ करोड ९५ लाख रुपैयाँ आम्दानी बढेको कार्यालयले जनाएको छ ।
खेती र उत्पादकत्व
मुस्ताङका पाँचवटै स्थानीय तहमा गरी कुल ८ सय ९९ हेक्टर क्षेत्रफलमा स्याउखेती विस्तार गरिएको छ । जसमध्ये ६ सय २७ हेक्टर क्षेत्रफलमा लगाइएका बोटले उत्पादन दिने गरेका छन् । स्थानीय स्याउको क्षेत्र ८ सय ३७ हेक्टरमध्ये ५ सय ७२ हेक्टर र ६२ हेक्टर क्षेत्रफलमा लगाइएको हाइब्रिड बगैंचामध्ये ५५ हेक्टरले उत्पादन दिने गरेको छ ।
गत वर्षको तुलनामा यस वर्ष स्थानीयतर्फ ७ हेक्टर र हाइब्रिडतर्फ २ हेक्टर क्षेत्रफल विस्तार भएको छ । स्थानीय स्याउको प्रतिहेक्टर उत्पादकत्व गत वर्ष १० दशमलव ७४ मेट्रिक टन रहेकामा यस वर्ष घटेर ९ दशमलव १९ मेट्रिक टनमा सीमित भएको छ । हाइब्रिड स्याउको उत्पादकत्व भने गत वर्ष २५ मेट्रिक टन रहेकामा यस वर्ष बढेर २५ दशमलव ९० मेट्रिक टन पुगेको छ ।
मुस्ताङमा स्थानीय जाततर्फ रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस, रिचारेड डेलिसियस र फुजी स्याउ उत्पादन हुन्छन् भने हाइब्रिडतर्फ गाला, रेड डेलिसियस, किङ्गरोट, जोना प्रिन्स लगायतका जात उत्पादन हुने गरेको छ ।









मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै
मालढुंगा–बेनी यात्रा अवधि छोटियो
लेखनाथ महोत्सवः जहाँ पुसको जाडोमा रत्यौलीको न्यानो घन्किन्छ
पोखरा विमानस्थलको भ्रष्टाचारमा ५ पूर्वमन्त्री सहित ५५ जनाविरुद्ध मुद्दा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया