महानगरमा अपांगता ऐन जारी गर्न माग

पोखरा ।
राष्ट्रिय अपांग महासंघ नेपाल र पोखरा महानगरपालिका सामाजिक महाशाखाले बुधबार संयुक्त रुपमा अपांगता भएका व्यक्तिहरुको ३४ औं अन्तर्राष्ट्रिय दिवस २०८२ मनाएका छन् । ‘अपांगता समावेशी समाजको प्रवद्र्धनः सामाजिक उन्नत्तिको सम्वद्र्धन’ भन्ने मूल नाराका साथ सो दिवस मनाइएको हो ।
पोखराको जिरो किमीदेखि निकाएको प्रभातफेरी र्याली सिर्जनाचोक हुँदै पोखरा सभागृहमा पुगेर सभामा परिणत भएको थियो । कार्यक्रममा पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले सबै प्रकारका अपांगता भएका व्यक्तिहरूको सम्मान, अधिकार र सहभागितालाई सुनिश्चित गर्नेुपर्ने बताइन् । राष्ट्रिय जनगणनामा अपांगता भएका व्यक्तिको सही तथ्यांक आउन नसकेको उल्लेख गर्दै उनले महानगरले अपांगता लक्षित कार्यक्रम निर्माणमा ध्यान दिने जनाइन् ।
अपांगता भएका बालबालिकाको शिक्षामा पहुँच पुर्याउन नसक्दा विगतमा बालमैत्री महानगर घोषणा हुन नसकेको जानकारी दिँदै उनले दोस्रो कार्यकालमा निर्वाचित हुँदा लैंगिक हिंसा न्यूनिकरण र अपांगता भएका बालबालिकाको शिक्षालाई प्राथमिकता दिने घोषणा गरेको स्मरण गरिन् ।
पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले महानगरले अपांगतासम्बन्धी ऐन कानुन निर्माणमा ध्यान दिने बताए । उनले संघ तथा गण्डकी प्रदेशले नीति तथा कानुन बनाएको परिप्रेक्ष्यमा महानगर अग्रसर भएर लाग्ने प्रतिबद्धता जनाए । उनले अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि (२००६) अनुसार नीति कार्यक्रम ल्याउने उल्लेख गरे ।
कार्यक्रममा राष्ट्रिय अपांग महासंघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष हेमबहादुर गुरुङले अपांगतासम्बन्धी ऐन कानुन तर्जुमा गर्न पोखरा महानगरसमक्ष माग गरे । उनले नीति कानुन बनाए अहिलेसम्म गरेका कामलाई एकीकृत गरी अझ प्रभावकारी बनाउन सक्ने बताए । उनले गण्डकी प्रदेशले २०८२ भदौ ३ गते ‘अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन–२०८२’ जारी गरेको अवस्थामा महानगरले ढिलाई गर्न नहुने उल्लेख गरे ।
अध्यक्ष गुरुङले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनसंख्याको १५ प्रतिशत नागरिक कुनै न कुनै रुपमा अपांगता हुने प्रक्षेपण गरेको बताए । उनले महानगर समेत अपांगता क्षेत्रको उत्थान तथा विकासका लागि १५ प्रतिशत बजेट विनियोजन गर्न माग गरे । ‘अपांगताको क्षेत्रमा १५ प्रतिशत बजेट लक्षित गरी योजना निर्माण गर्न आवश्यक छ,’ उनले भने, ‘सबैको लागि पहुँचयुक्त पूर्वाधार निर्माण गर्न सके पर्यटकीय राजधानी पोखरामा संसार भरका अपांगता भएका व्यक्ति घुम्न आउन सक्छन् ।’
उनले अन्तर्राष्ट्रिय दातृ निकायलाई आकर्षण गर्न आग्रह गरे । अध्यक्ष गुरुङले अपांगता भएका व्यक्तिको स्वास्थ्य उपचारको लागि पुनस्थापना सेवाका कार्यक्रम ल्याउन माग गरे । अपांग महिला सशक्तीकरण केन्द्र कास्की अध्यक्ष अञ्जना केसीले अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धी २००६को अनुमोदन तथा राज्य पुनर्सरचना पश्चातको नयाँ पृष्ठभूमिमा नेपालमा अपांगको अधिकारको सवालमा केही नीतिगत परिवर्तन भएको उल्लेख गरिन् ।
उनले नीति कानुनमा जति राम्रा कुरा लेखिएको भएता पनि कार्यान्वयन पक्ष कमजोर हुँदा अपांगता भएका व्यक्तिहरुको रोजगारी, शिक्षा, स्वास्थ्य सुविधा र पुनस्थापनाको क्षेत्रमा अधिकार सुनिश्चित हुन नसकेको चर्चा गरिन् । कार्यक्रममा पोखरा महानगरपालिका सामाजिक महाशाखाका निर्देशक निर्मला शर्मा, सामाजिक विकास अधिकृत अर्जुन नेउपाने, राष्ट्रिय अपांग महासंघ नेपालका संघीय सदस्य विष्णु सिग्देल, अपांगता सञ्जाल पोखरा महानगरका संयोजक गंगाबहादुर खड्का, राष्ट्रिय बहिरा महासंघ गण्डकी अध्यक्ष गंगा थापा, जानकी माविका स्रोत शिक्षक कमलप्रसाद आचार्य, रामनारायण श्रेष्ठ, सन्तबहादुर परियार, गोविन्द भण्डारी, मुकुन्द लम्साल, हरि केसी, अर्जुन सुनार, सन्ध्या सुवेदी लगायतले बोलेका थिए ।
कार्यक्रममा सिर्जना बहिरा मावि, साथी संसार नेपाल, डाउन सिण्डम समाज, शिशु विकास केन्द्रका विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया