उल्लेरी–घोडेपानी सडकमा कल्भर्ट

राष्ट्रिय समाचार समिति (रासस) २०८२ मंसिर १८ गते १२:२०

कास्की ।
अन्नपूर्ण संरक्षण क्षेत्रभित्रको महत्वपूर्ण विश्व प्रख्यात पर्यटकीय गन्तव्य घोडेपानी जाने प्रमुख सडकमार्ग वीरठाँटी–तीखेढुंगा उल्लेरी घोडेपानी खण्डमा मोटरेवल कल्भर्ट पुल निर्माण सुरु भएको छ ।


कास्कीको अन्नपूर्ण गाउँपालिकाको उल्लेरीदेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पर्यटकीय गन्तव्य घोडेपानी जोड्ने सो सडकको अन्नपूर्ण ८ मा पर्ने मताठाटीमा आज कल्भर्ट पुल निर्माण शिलान्यास गरिएको हो । कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षको योजनामा समावेश २६ लाख लागतमा पुल निर्माण अघि बढाएको हो ।


पुल निर्माणसँगै कास्कीको नयाँपुल वीरेठाँटी हुँदै विश्वप्रख्यात घोडेपानी पुन हिल पुग्ने पर्यटक लाभान्वित हुनेछन् । बर्खाको समयमा सास्ती पाउँदै आएका स्थानीय र पर्यटकले कल्भर्ट पुल बनेसँगै वर्षभरि सहज यात्रा गर्न पाउने अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताए । उनले भने, “यस सडकलाई गाउँपालिकाले महत्त्वपूर्ण पूर्वाधार परियोजनाका रूपमा लिएको छ ।

Advertisement


संघ र प्रदेश सरकारको समेत लगानीमा यो सडक स्तरोन्नति भइरहेको छ । मोटरेवल कल्र्भट पुल निर्माणलाई गाउँपालिकाले यथाशीघ्र सम्पन्न गरी बर्खायाममा हुने जोखिम तथा असुविधा न्यूनीकरण गर्ने लक्ष्य राखेको छ । पुल निर्माणसँगै यातायात सहजता, जीवनस्तर सुधार र जोखिम न्यूनीकरणको अपेक्षा गरिएको छ । महत्वपूर्ण पर्यटकीय गन्तव्यमा बन्ने पुलले पर्यटक आगमन वृद्धिका साथै पर्यटकलाई थप सुविधा पुग्ने अपेक्षा गरिएको अध्यक्ष केसीले बताए ।


‘कल्भर्ट पुलको निर्माणले पर्यटकीय रूपमा महत्त्वपूर्ण उल्लेरी–घोडेपानी क्षेत्रको यातायात सहज बनाउनेछ’, उनले भने । कास्कीको अन्नपूर्ण गाउँपालिकाको नयाँपुलबाट यो सडक वीरेठाँटी हुँदै म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको घोडेपानी, शिख, घार हुँदै पालिकाको केन्द्र पोखरेबगर जोडिन्छ ।

Advertisement


यो सडकलाई धार्मिक सडक ‘मुक्ति मार्ग’का रूपमा समेत लिइएको छ । विगतमा पोखरा–बागलुङ राजमार्ग नबन्दा यही मार्ग हुँदै मुस्ताङ आवतजावत हुने गरेको थियो । यसलाई धार्मिक सडकका रूपमा पोखरा–मुस्ताङ जोड्ने वैकल्पिक सडकको रूपमा समेत हेरिएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले बताए ।


‘बर्खा याममा जहिले पनि सास्ती थियो । ह्युमपाइप राखेर सवारी आवतजावत हुने गरे पनि खोलामा बाढी आउनेबित्तिकै बगाउने गरेकाले स्थानीयसँगै पर्यटकलाई समेत दुःख थियो । अहिले कल्भर्ट निर्माण सुरु भएसँगै सानो कामले पनि जनतालाई सुविधा हुने देखिएको छ,’ बरालले भने । पोखरादेखि मुस्ताङ जोड्ने वैकल्पिक सडकसमेत रहेकाले यहाँ निर्माण हुने ६ मिटर फराकिले कल्भर्टको ठूलो महत्व रहेको उनको भनाइ छ ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया