कम्पोस्ट मल बनाउन सिकाउँदै हेरालो

समाधान संवाददाता २०८२ मंसिर १८ गते १७:०८

पोखरा ।
पोखरा ८ मा रहेको हेरालो प्रतिष्ठान कास्कीले पोखरा १५ मा रहेको संंगम सहकारीसँगको सहकार्यमा विभिन्न महिला समूह र टोल पिकास संस्था प्रतिनिधिलाई कम्पोस्ट मल बनाउन सिकाएको छ । कौसी खेतीमा इच्छुकहरुसँग फोहोरमैला वर्गीकरण गर्दै कम्पोस्ट मल बनाउने सरल विधि सिकाउनुका साथै सहभागी सबैलाई ड्रमसमेत प्रदान गरिएको छ ।


हेरालो स्थापनाको दिवसका अवसरमा गरिएको उक्त कार्यक्रममा पोखरा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले फोहोरमैला वर्गीकरण गरी कम्पोस्ट मल बनाउने कार्यले पोखरालाई सफा र हराभरा राख्न मद्दत पुग्ने जनाए । उनले कोइकासँग मिलेर पोखरा महानगरपालिकाले पनि यस्तै कार्य गर्दै आएको सुनाए ।


कम्पोस्ट मल बनाउन सिकाउँदै हेरालोका पूर्वअध्यक्ष रोश गुरुङले फोहोर घरमा आफैं आउने नभई किनेर ल्याउने चिजबाट नै निस्कने भएकाले त्यसको व्यावहारिक र वैज्ञानिक व्यवस्थापनमा सबैले ध्यान दिनुपर्ने विचार राखे । संगम सहकारीका अध्यक्ष नवराज तिवारीले राम्रो कार्यमा सहकार्य गर्न पाएकोमा हेरालो प्रतिष्ठानप्रति आभार व्यक्त गरे ।

Advertisement


हेरालोका पूर्वअध्यक्ष निरज थापाले २६ वर्षअघि जापानमा हुँदा त्यहाँको फोहोरमैला व्यवस्थापनबाट प्रभावित भएर उतै जन्मिएको हेरालोले पोखराको वातावरणको क्षेत्रमा कार्य गर्दै आएको जनाए । संगम सहकारीका वरिष्ठ व्यवस्थापक वृहस्पति अधिकारीले संस्थामा पर्याप्त तरलता र राम्रो जगेडा कोष भएको बताए ।

संगम सहकारीको शिक्षा उपसमिति सदस्य सरस्वती अधिकारीले हेरालोको नारा र आजको कार्यक्रमबाट आफू प्रभावित भएको बताइन् । कार्यक्रम संयोजक तिलक थापाले अर्को वर्ष कौसी खेती गर्नेहरुका बिचमा प्रतियोगिता गर्ने योजना सुनाए ।

Advertisement

तपाईको प्रतिक्रिया