बेनीको तोरीपानीमा ‘सयपत्री होमस्टे’ : आँगनबाटै हिमाल, १५ सयमै प्याकेज

म्याग्दी ।
म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीमा ‘सयपत्री सामुदायिक होमस्टे’ सञ्चालनमा आएको छ । पर्यटकीय सम्भावना बोकेको तोरीपानीका ५ वटा घरमा होमस्टे सुरु गरिएको हो । यहाँ एकैपटक २१ जना पाहुना बस्न सक्ने क्षमता छ ।
स्थानीय जुना खत्री, रश्मी चोखाल, सुजना चोखाल, युव गिरी र जमुना श्रेष्ठको घरमा होमस्टे सुरु भएको हो । समूहकी अध्यक्ष सीता खत्रीले गाउँमा आउने पाहुनालाई पारिवारिक वातावरणमा राख्ने उद्देश्यले सेवा थालिएको बताइन् । पर्यटकको चाप बढेपछि अन्य घरमा पनि होमस्टे विस्तार गर्ने योजना रहेको उनले सुनाइन् ।
पाहुनाका लागि घरमा छुट्टै कोठा, बेड र शौचालयको व्यवस्थापन गरिएको छ । घरका कोठाबाटै धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मानापाथी लगायतका हिमाल देख्न सकिन्छ । समुद्री सतहबाट १ हजार ७५० मिटर उचाइमा रहेको तोरीपानीबाट सूर्योदय र सूर्यास्तको दृश्य मनमोहक देखिन्छ ।
यहाँ अर्गानिक खानपानलाई प्राथमिकता दिइएको छ । सञ्चालक युव गिरीका अनुसार पाहुनालाई स्थानीय गौरिया गुडुरा जातको धानको भात, कोदो र फापरको ढिँडो, रोटी, टिमुरको चटनी, लोकल कुखुरा, खसीको मासु तथा दूध–दहीका परिकार खुवाइनेछ । तोरीपानी टिमुरको पकेट क्षेत्र भएकाले टिमुरको चटनी यहाँको विशेष परिकार हो ।
यहाँ बास बस्नका लागि १५ सय रुपैयाँको प्याकेज बनाइएको छ । फर्कँदा पाहुनालाई टिमुर, भटमास र भाङ्गो कोसेली दिने गरिएको सञ्चालक जमुना श्रेष्ठले बताइन् । पाहुनाको मनोरञ्जनका लागि यानीमाया, पञ्चेबाजा र भजनको व्यवस्था छ ।
होमस्टे सञ्चालनका लागि ‘इको हिमाल’ संस्थाले तालिम र पूर्वाधारमा सहयोग गरेको छ । संस्थाका निर्देशक नारायण ढकालले प्रतिघर ७० हजार रुपैयाँ बराबरको सामग्री र समूहलाई २ लाख रुपैयाँ सहयोग गरेको जानकारी दिए ।
बेनी बजारदेखि ९ किलोमिटर उत्तरमा रहेको तोरीपानी पुग्न गाडीमा करिब ३० मिनेट लाग्छ । बेनीदेखि किराखोरसम्म ५ किलोमिटर सडक पक्की छ भने बाँकी खण्डमा स्तरोन्नति भइरहेको छ । यहाँबाट पर्यटकीय स्थल टोड्के, ऐतिहासिक ढोलथान दरबार र धार्मिक स्थल पछै नजिकै पर्छन् ।









सम्पादकीय—लेकसाइडमा सडकको सास्ती
प्रतिनिधिसभा निर्वाचनका लागि १०७ चुनाव चिह्न तय, कुन दललाई के ?
कांग्रेस कास्की–१ मा उम्मेदवार प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १२ र समानुपातिकमा ८ जनाको दाबी
गोरखा–२ बाट पूर्वउपरथी बाबुराम श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिने
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया