मुस्ताङले तान्यो विदेशी

सुन्दरकुमार थकाली २०८२ मंसिर १९ गते १३:०१

जोमसोम ।
मुस्ताङमा सन् २०२४ का १२ महिनाको तुलनामा २०२५ को ११ महिना अर्थात नोभेम्बरसम्ममा १०.६१ प्रतिशतले विदेशी पर्यटकको संख्या वृद्धि भएको छ । २०२५ को जनवरीदेखि नोभेम्बरसम्म अघिल्लो वर्षभन्दा १४ हजार ४ सय ११ जना बढी विदेशी पर्यटक यहाँ आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय (एक्याप) जोमसोमले उल्लेख गरेको छ ।


२०२४ को जनवरीदेखि डिसेम्बरसम्मका बाह्र महिनाको अवधिमा सार्क तथा अन्य मुलुकका गरी १ लाख ३५ हजार ७ सय १९ जना विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए । त्यस वर्ष सार्क राष्ट्रबाट १ लाख ९ हजार ५ सय ४९ जना र अन्य राष्ट्रबाट २६ हजार १ सय ७० जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए ।


यस वर्ष अर्थात सन् २०२५ को डिसेम्बर महिना बाँकी रहँदा यहाँ १ लाख ५० हजार १ उ ३० जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिए । यस वर्षको ११ महिनामा १ लाख २३ हजार २ सय ५३ जना सार्क र २६ हजार ८ ुउ ७७ जना अन्य मुलुकका विदेशीले मुस्ताङ भ्रमण गरेका छन् ।

Advertisement


एक्यापको तथ्यांक अनुसार सन् २०२४ को बाह्र महिना र सन् २०२५ को ११ महिनाको तुलना गर्दा सार्क राष्ट्रतर्फ १३ हजार ७ सय ४ जना र अन्य राष्ट्रतर्फ ७ सय ७ जना विदेशी पर्यटकको संख्या वृद्धि भएको हो । सार्कतर्फ ११.११ प्रतिशत र अन्यतर्फ २.६३ प्रतिशत विदेशी पर्यटकको संख्या वृद्धि भएको एक्यापले जनाएको छ ।


२०२५ को जनवरीमा ४ हजार ३ सय ४६, फेबु्रअरीमा ५ हजार ३ सय ३, मार्चमा १९ हजार ९५, अप्रिलमा २३ हजार १ सय ५२, मेमा २५ हजार ७ सय २७, जुनमा २० हजार ८ सय ५८, जुलाइमा १० हजार ८ सय १९, अगस्टमा ७ हजार ६ सय ८७, सेप्टेम्बरमा ८ हजार १ सय ४७, अक्टुबरमा १३ हजार १ सय ८१ र नोभेम्बरमा १२ हजार १५ सार्क तथा अन्य मुलुकका पर्यटक मुस्ताङ भित्रिएका हुन् ।

Advertisement


अगस्ट र सेम्टेम्बरमा युवाको जेनजी आन्दोलनको प्रभाव र प्रतिकूल मौसमका कारण विदेशी पर्यटकको संख्या घट्न पुगेको एक्याप प्रमुख गुप्तले उल्लेख गरे । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा सार्क राष्ट्रबाट मुस्ताङ भ्रमण गर्नेमा अधिकांश भारतीय छन् ।


अक्सर यहाँ आएका भारतीय पर्यटक मुक्तिनाथको दर्शन गरी फर्किने गरेका छन् । अन्य मुलुकका पर्यटक भने आंशिक रुपमा माथिल्लो मुस्ताङ भ्रमण गर्न जाने गरेका छन् । हिमाली जिल्लाको पृथक भूगोल, प्राकृतिक सौन्दर्य, जैविक विविधिता, ऐतिहासिक तथा पुरातात्विक भौतिक सम्पदा, हिमाली जीवनशैली, तिब्बतीयन कला, संस्कृति लगायतको नजिकबाट अवलोकन गर्न विदेशी पर्यटक मुस्ताङ आउने गरेका छन् ।


माथिल्लो मुस्ताङका सदियौं पुरानो मानव निर्मित गुम्बा, मुस्ताङी राजाको ऐतिहासिक दरबार, गुरु पद्मसम्भवले निर्माण गरेको घार गुम्बा, छोसेर गुफा सिउसी गुफा, लुरी गुफा, थोरङ्लापास, मुक्तिनाथ, कागबेनी, जोमसोम, ढुम्बाताल, मार्फा गाउँ लगायतका पर्यटकीय गन्तव्यले आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कर्षित गर्ने गरेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए ।


पछिल्लो समय भारत र चीन जोड्ने राष्ट्रिय गौरवको बेनी जोमसोम कोरला सडक सहज हुँदै गएपछि मुस्ताङमा पर्यटकको संख्या बर्सेनि वृद्धि हुँदै जान थालेको कार्यालय प्रमुख पौडेलले बताए । हालै सरकारले माथिल्लो मुस्ताङका हिमचुचुराहरुको आरोह खुला गरिएको र सरकारले माथिल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटकलाई प्रतिदिन ५० डलर प्रवेशाज्ञा शुल्क कायम गरेकाले विगतको वर्षभन्दा आगामी वर्ष विदेशी पर्यटकको संख्या वृद्धि हुने कार्यालय प्रमुख पौडेलको भनाइ छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया