नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम

पोखरा । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले गण्डकी प्रदेश लोकसेवा आयोगबाट सिफारिस भई स्थानीय तहमा कार्यरत नवप्रवेशी कर्मचारीहरूका लागि सञ्चालित सेवा प्रवेश तालिम सम्पन्न गरेको छ । मंसिर १४ गतेदेखि सञ्चालित ५ दिने तालिम शुक्रबार सकिएको हो ।
राष्ट्रिय परीक्षा बोर्डको सभाहलमा आयोजित समापन कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरेले प्रदेश निजामती सेवाको शान सेवा प्रवाहमा कुशलता र पारदर्शितामा निर्भर रहने बताए । उनले स्थानीय तहबाट जनताले धेरै अपेक्षा गरेको भन्दै यो तालिम सेवा प्रवाह सुधारमा सहयोगी बन्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीले स्थानीय तहका कर्मचारीलाई दैनिक कार्यसम्पादनमा सहज होस् भन्ने उद्देश्यले व्यावहारिक कक्षाहरू सञ्चालन गरिएको बताए । प्रतिष्ठानका निर्देशक लक्ष्मण तिमिल्सिनाले तालिममा स्थानीय तहको काम, कर्तव्य र अधिकार, खरिद प्रक्रिया, बजेट निर्माण, विकास योजना, भवन निर्माण मापदण्ड, अनुगमन तथा मूल्यांकन, जिन्सी व्यवस्थापन र अभिलेख व्यवस्थापन लगायतका विषयमा सहजीकरण गरिएको जानकारी दिए ।
तालिममा प्रशासन तर्फका सहायकस्तर चौथो र पाँचौं तहका कुल ७२ जना कर्मचारी सहभागी थिए । तालिम संयोजक एवं प्रशिक्षण तथा अनुसन्धान अधिकृत इन्जिनियर मनोज पौडेलले प्रशासनका कर्मचारीलाई प्रशासनिकसँगै प्राविधिक ज्ञान पनि आवश्यक पर्ने भएकाले प्राविधिक विषयवस्तुलाई समेत समेटेर अभ्यासमूलक प्रशिक्षण दिइएको बताए ।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड प्रदेश कार्यालयका प्रमुख भाष्करराज पन्त, सहभागीका तर्फबाट प्रतिक्षा डुम्रे पराजुली र कुबेरजंग मल्लले आ–आफ्ना अनुभव सुनाएका थिए । प्रतिष्ठानले आगामी मंसिर २१ गतेदेखि प्राविधिक तर्फका चौथो र पाँचौं तहका कर्मचारीका लागि पनि सेवा प्रवेश तालिम सञ्चालन गर्ने तयारी गरेको इन्जिनियर पौडेलले जानकारी दिए ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया