एन प्याब्सन फुटसलको उपाधि न्यु ग्यालेक्सीलाई

समाधान संवाददाता २०८२ मंसिर २१ गते ६:१३

पोखरा ।  नेसनल प्याब्सन (एन प्याब्सन) कास्कीको आयोजनामा जारी खेलकुद सप्ताहअन्तर्गत फुटसलको उपाधि न्यु ग्यालेक्सी माविले जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा अक्सफोर्ड स्कुललाई ३–१ गोल अन्तरले पराजित गर्दै न्यु ग्यालेक्सी च्याम्पियन बनेको हो ।

उपाधि भिडन्तमा पराजित भएको अक्सफोर्ड उपविजेतामा सीमित बन्यो । प्रतियोगितामा कास्की मोडर्नाइज्ड एकेडेमी र श्री रत्नज्योति माविले सान्त्वना स्थान (तेस्रो) हासिल गरेको संयोजक केशव शरण पौडेलले जानकारी दिए ।

फाइनल यात्रा तय गर्ने क्रममा न्यु ग्यालेक्सीले सेमिफाइनलमा श्री रत्नज्योतिलाई ४–१ ले, क्वार्टरफाइनलमा त्रिवेणीलाई ५–० ले र पहिलो चरणमा नेसनल क्रिएसनलाई ७–० को फराकिलो अन्तरले हराएको थियो । यस्तै, अक्सफोर्डले सेमिफाइनलमा कास्की मोडर्नाइज्डलाई १–० ले र क्वार्टरफाइनलमा साइनिङ स्टारलाई ‘टाइब्रेकर’ मा ३–१ ले पाखा लगाएको थियो ।

Advertisement

फुटसलतर्फ कक्षा ११ र १२ का विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । विजेता टिम र खेलाडीलाई मंसिर २६ गते महोत्सव समापनका अवसरमा पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

क्रिकेटमा सिद्धार्थ र अञ्जुलीको जित

Advertisement

शनिबार नै भएको क्रिकेटतर्फको प्रतिस्पर्धामा पाँच विद्यालय विजयी भएका छन् । पहिलो खेलमा सिद्धार्थ लवडेलले अल्फा एकेडेमीलाई २ विकेटले हरायो । टस जितेर ब्याटिङ गरेको अल्फाले १० ओभरमा ५९ रन बनाएको थियो । जवाफमा सिद्धार्थ लवडेलले ९.४ ओभरमा ८ विकेट गुमाउँदै ६० रन बनाएर जित हासिल गर्यो ।

दोस्रो खेलमा अञ्जुली बोर्डिङले गण्डकी एकेडेमीमाथि ९ विकेटको सानदार जित निकाल्यो । गण्डकीले दिएको ४३ रनको सामान्य लक्ष्य अञ्जुलीले ५ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । तेस्रो खेलमा युनिभर्स बोर्डिङले सनराइज स्कुललाई ३ विकेटले पराजित गर्यो । सनराइजले दिएको ५३ रनको लक्ष्य युनिभर्सले ८ ओभरमा भेट्टायो ।

चौथो खेलमा ज्ञानज्योतिले कान्तिपुरलाई ७ विकेटले हरायो । टस जितेर फिल्डिङ रोजेको ज्ञानज्योतिले कान्तिपुरलाई ५२ रनमा रोकेको थियो । जवाफमा ज्ञानज्योतिले ८ ओभरमा लक्ष्य पूरा गर्यो । शनिबारको अन्तिम खेलमा हेम्जा बोर्डिङले श्री रत्नज्योतिलाई १४ रनले पराजित गर्यो । हेम्जाले प्रस्तुत गरेको ७१ रनको लक्ष्य पछ्याएको रत्नज्योति ५६ रनमै अलआउट भयो ।

क्रिकेटतर्फ कक्षा १ देखि १० सम्मका विद्यार्थी सहभागी छन् । आइतबारको पहिलो खेल अक्सफोर्ड र लाविन रेसिडेन्सियलबीच बिहान ८ बजे हुने संयोजक ज्ञानेन्द्रबहादुर थापाले जानकारी दिए ।

प्रतिभा पहिचान महोत्सव २४ देखि

एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीका अनुसार यो ‘दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद प्रतियोगिता–२०८२’ हो । खेलकुद प्रतियोगिता मंसिर २० देखि २३ गतेसम्म पोखरा रंगशालामा र बाल प्रतिभा पहिचान कार्यक्रम मंसिर २४ देखि २६ सम्म पोखरा प्रदर्शनी केन्द्रमा सञ्चालन हुनेछ । महोत्सवको औपचारिक उद्घाटन मंसिर २४ गते हुने तय भएको छ ।

प्रतियोगितामा संघमा आबद्ध ४३ विद्यालयका १ हजार ५ सय विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गरिरहेको अध्यक्ष अधिकारीले बताए । महोत्सवमा खेलकुदबाहेक सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि प्रदर्शनी र हस्तकला (पात, पराल र चोयाका सामग्री) समावेश छन् ।

अतिरिक्त क्रियाकलाप प्रमुख राजु कायस्थका अनुसार अंग्रेजी वक्तृत्वकलामा कक्षा ९ देखि १२ र अन्य विधामा कक्षा १ देखि १० सम्मका विद्यार्थी सहभागी हुनेछन् । सचिव प्रेमराज अधिकारीले अभिभावक र अन्य विद्यालयका विद्यार्थीलाई पनि महोत्सव अवलोकन गर्न आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया