गुप्तेश्वरका एमबिए विद्यार्थीको ‘फिल्ड भिजिट’ मा कालाबाङ होमस्टे पुग

पोखरा ।
पोखराको गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका विद्यार्थीले शनिबार कालाबाङ घुरेडी सामुदायिक होमस्टेको अवलोकन भ्रमण गरेका छन् । क्याम्पसको व्यवस्थापन संकायअन्तर्गत एमबिए दोस्रो र चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरू किताबी ज्ञानलाई व्यवहारमा उतार्न पोखरा–२२ स्थित उक्त होमस्टे पुगेका हुन् ।
विद्यार्थीलाई सामुदायिक पर्यटन, स्थानीय उद्यमशीलता र होमस्टे सञ्चालन प्रक्रियाबारे प्रत्यक्ष अनुभव दिलाउन क्याम्पसले यो भ्रमण आयोजना गरेको हो ।
होमस्टे पुगेका विद्यार्थीलाई घर नम्बर १ की सञ्चालिका नन्दा गुरुङ र उनका पति रविन्द्र गुरुङले स्वागत गर्दै सञ्चालन प्रक्रियाबारे जानकारी दिए । नन्दाका अनुसार हाल गाउँमा गुरुङ, ब्राह्मण र दलित समुदायका गरी १८ घरधुरीमा होमस्टे सञ्चालनमा छ ।
‘अहिले हामीलाई भ्याइनभ्याइ छ, हप्ता दिनअघि नै बुकिङ हुन्छ, फुर्सद नै पाइँदैन,’ नन्दाले भनिन्, ‘यहाँ पोखरा र आसपासका जिल्लासँगै विदेशी पाहुना पनि बस्न आउँछन् । पाहुनाहरू हाम्रो आतिथ्यमा रमाउँदा हामी सन्तुष्ट छौँ ।’ होमस्टेले स्थानीय स्तरमा रोजगारी सिर्जना, आयआर्जन र संस्कृति संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याएको उनले बताइन् ।
भ्रमणमा सहभागी एमबिए दोस्रो वर्षका विद्यार्थी सुजन पौडेल आफैँ पनि होमस्टे व्यवसायी हुन् । उनले पढाइसँगै उद्यमशीलतालाई अघि बढाउनु व्यावहारिक हुने बताए । ‘यसले युवालाई स्थानीय स्तरमै जिम्मेवार बनाउँछ र स्वदेशमै अवसर खोज्न हौसला दिन्छ,’ उनले भने ।
क्याम्पसका आइक्युएसी (IQAC) प्रमुख राजकुमार सुवेदीले कक्षाकोठाको सैद्धान्तिक ज्ञानलाई व्यावहारिक परिवेशसँग जोड्न यस्ता अवलोकन भ्रमण प्रभावकारी हुने बताए । विद्यार्थीको सीप र बुझाइ विस्तार गर्न यस्तो गतिविधि आवश्यक रहेको उनको भनाइ छ ।
अवलोकनका क्रममा विद्यार्थीले होमस्टेबाट करिब १० मिनेटको दूरीमा रहेको विशाल बुद्ध पार्कको समेत भ्रमण गरे । पछिल्लो समय पोखराको घुम्नैपर्ने गन्तव्य बनेको यो पार्कबाट माछापुच्छ्रे हिमाल, फेवाताल, सराङकोट र पोखरा उपत्यकाको मनोरम दृश्य देखिन्छ । सार्वजनिक बिदाका दिन यहाँ सयौँ पर्यटक पुग्ने गरेका छन् ।
कालाबाङ होमस्टेमा अर्गानिक खाना, ग्रामीण परिवेश र गुरुङ संस्कृतिको वेषभूषा (भांग्रा, कछाड, गुन्यूचोली) लगाएर फोटो खिच्ने सुविधाले पर्यटकलाई लोभ्याउने गरेको भ्रमणमा सहभागी विद्यार्थीले प्रतिक्रिया दिए ।









लेकसाइडका सडकमा बस पार्किङ निषेध
सम्पादकीय—सुन्दर योजना, कुरुप कार्यान्वयन
अन्नपूर्ण क्षेत्रमा ११ महिनामा पौने ३ लाख पर्यटक, अप्रिलमा सर्वाधिक
बेनी–जोमसोम–कोरला सडक : १३ पुल निर्माण सम्पन्न, ३ वटा अन्तिम चरणमा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया