
पोखरा महानगरपालिका वडा नम्बर १२ को कार्यालयमा सेवाग्राहीको चहलपहल सधैंझैं व्यस्त छ । हातमा फाइल बोकेर राजस्व काउन्टरतर्फ बढेका सेवाग्राहीहरू जब झ्यालभित्र नजर लगाउँछन्, एकछिन टक्क अडिन्छन् । आँखा मिचेर फेरि हेर्छन्, तर दृश्य उही हुन्छ । सधैं अफिसको माथिल्लो तलाको भित्री कोठाको ‘ठूलो कुर्सी’ मा निर्णय गरिरहेको भेटिने वडाध्यक्ष सन्तोष बास्तोला, आजभोलि काउन्टरको सामान्य कुर्सीमा बसेर सेवाग्राहीको राजस्व हिसाब गरिरहेका भेटिन्छन् ।
यो दृश्य देख्दा सेवाग्राहीलाई जति अस्वाभाविक र चाखलाग्दो लाग्छ, यसको पछाडिको कारण उति नै सकारात्मक छ । खासमा वडाका राजस्व कर्मचारी एक महिना लामो सेवाकालीन तालिममा गएपछि सेवा ठप्प हुने अवस्था सिर्जना भयो । नीतिगत रूपमा हेर्ने हो भने जनप्रतिनिधिले प्रत्यक्ष नगद वा राजस्व बुझ्ने काम गर्नु मिल्दैन । तर, वडाध्यक्ष बास्तोलाका अगाडि दुईवटा विकल्प थिए– या त ‘कर्मचारी छैनन्, अर्को महिना आउनुुस् भनेर जनतालाई फर्काउने, या त ‘सेवा रोकिँदैन’ भनेर आफैं अघि सर्ने ।
उनले दोस्रो विकल्प रोजे । मंसिर ४ गतेदेखि उनी लेखापाल ऋतु अधिकारीलाई सघाउँदै कम्प्युटरमा डाटा इन्ट्री गर्ने र सिफारिस बनाउने काममा व्यस्त छन् । युजर आइडी पनि ऋतुकै प्रयोग गर्छन् बास्तोला । महानगरबाट पठाइएका कर्मचारीले तत्काल काम सम्हाल्न नसक्ने अवस्था देखेपछि सेवाग्राहीलाई फर्काउनुभन्दा आफैं कस्सिएको उनी बताउँछन् ।
काम लिएर वडा कार्यालय पुगेका स्थानीय वसन्त शर्मालाई लागेको थियो– कर्मचारी नहुँदा आज काम बन्दैन्, फेरि धाउनुपर्छ । तर, वडाध्यक्षले नै सहजीकरण गरिदिएपछि उनी दंग परे । काम रोकिएको भए सास्ती हुने भन्दै उनले वडाध्यक्षको सहयोगले ठूलो राहत मिलेको महसुस गरे ।
औषधि व्यवसायी रामबहादुर बुढाथोकीको खुसी पनि उस्तै छ । समाज परिवर्तनका लागि भाषण होइन, यस्तै व्यवहार चाहिन्छ भन्दै उनले आवश्यक पर्दा जो जहाँ पनि खटिनुपर्छ भन्ने यो राम्रो उदाहरण भएको बताए ।
वडा सचिव शारदा सापकोटाको बुझाइमा पनि यो आपतकालीन अवस्थामा गरिएको विवेकपूर्ण निर्णय हो । दैनिक सयौं सेवाग्राही आउने वडामा प्राविधिक कारण देखाएर सेवा रोक्नु जनप्रतिनिधिको धर्म होइन । कर्मचारी अभाव वा आकस्मिक परिस्थितिमा सेवा रोक्नुभन्दा उपलब्ध स्रोतसाधन प्रयोग गरेर सेवालाई निरन्तरता दिनु नै जनप्रतिनिधिको असली उत्तरदायित्व हो ।



प्रमिला कुँवर
पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया