प्रविधिको विकासले हिंसाका स्वरुप फेरिए

समाधान संवाददाता २०८२ मंसिर २१ गते १५:४१

पोखरा ।
लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत सामुदायिक सेवा केन्द्र पोखरा ९ पृथ्वीचोक तथा रोटरी क्लब अफ पोखरा मिडटाउनले महिलाको सशक्तिकरण सम्बन्धी प्रशिक्षण गरेका छन् । सेवा केन्द्रको रजत वर्षको सन्दर्भमा भएको कार्यक्रममा रोटरी क्लबका अध्यक्ष उपेन्द्र पौडेल र दुखाई रोग विशेषज्ञ डा हरि पौडेलले सहजीकरण गरेका छन् ।


गण्डकी प्रदेशका प्रेस रजिष्टार विमला भण्डारीले सञ्चार प्रविधिको विकाससँगै पछिल्लो अवधिमा लैंगिक रुपमा गरिने हिंसाका स्वरुप फेरिएको बताइन् । प्रविधिको विकासले संसारका व्यक्तिलाई एक ठाउँमा ल्याएको उल्लेख गर्दै उनले प्रविधिको विकासले हिंसाका स्वरुप पनि बदलिइएको चर्चा गरिन् ।


‘विगतमा शारीरिक मानसिक, राजनीतिक, आर्थिक रुपमा महिलामाथि हिंसा हुने गरेका थिए,’ उनले भने, ‘पछिल्ला समयमा हिंसाका स्वरुप फेरिएका छन् । सामाजिक सञ्जाल मार्फत म्यासेज बक्समा हिंसा सुटुक्क रुपमा आइसकेको छ ।’ उनले प्रविधिको प्रयोग गरेर फोटो तस्वीर सार्वजनिक गरेर चरित्र हत्या गर्ने काम भएको उल्लेख गरिन् । उनले प्रविधिको प्रयोग गरेर तर्साउने पीडक बिरुद्ध सोही अनुसारको कानुनी उपचार खोज्न पर्ने सुझाव दिइन् ।

Advertisement


वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले लैंगिक हिंसा न्यूनिकरणको लागि नेपाल प्रहरीले शुन्य सहनशीलताको नीति अपनाएर काम गरेको जानकारी दिए । उनले जानेर वा नजानेर घर भित्रबाट समेत महिलामाथि हिंसा हुने संकेत गरे । नेपाल प्रहरीले महिला, बाल बालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र मार्फत हिंसामा परेका व्यक्तिको सवाललाई सुनेको जानकारी दिदै उनले साइबर ब्युरो, मानव बेचबिखन ब्युरो मार्फत हिंसाका घटनालाई सम्बोधन गरेको बताए ।


सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका निवर्तमान अध्यक्ष कमलबहादुर श्रेष्ठले केन्द्रले नेपाल प्रहरीसँगको सहकार्यमा विकृति विसंगति न्यूनिकरणमा काम गरेको उल्लेख गरे । उनले लैंगिक हिंसा न्यूनिकरणको लागि समुदाय स्तरमा सचेतनामुलक कार्यक्रम गरेको जानकारी दिए ।

Advertisement


कार्यक्रममा संस्थाका अध्यक्ष कुमारीमुना बास्तोला, रोटरी क्लब अफ पोखरा मिडटाउनका पुर्व अध्यक्ष विनोदप्रसाद ह्येजू, संस्थाका उपाध्यक्ष उत्तम जोशी, सचिव तीर्थ शर्मा ढकाल लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया