तमु ल्होछारमा टुँडिखेलमा महोत्सव

समाधान संवाददाता २०८२ मंसिर २१ गते १८:५२

पोखरा । गुरुङ (तमु) समुदायको महान् पर्व ल्होछारको अवसरमा पोखरामा ३ दिने ‘तमु ल्होछार महोत्सव २०८२’ हुने भएको छ । आयोजक तमु धीं नेपालले आइतबार पोखरामा पत्रकार सम्मेलन गरी पुस १४, १५ र १६ गते पोखरा १ बगरस्थित पुरानो टुँडिखेलमा महोत्सव हुन लागेको जानकारी दिएको हो ।

Advertisement

सप्री ल्हो (सर्प वर्ग) को बिदाइ र त ल्हो (घोडा वर्ग) को आगमनको अवसरमा आयोजना हुन लागेको महोत्सवको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा तमु धीं नेपालका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक हुमबहादुर गुरुङले लामो आन्दोलनपश्चात् पुस १५ गते ल्होछारमा एक दिने राष्ट्रिय बिदा प्राप्त भएको स्मरण गर्दै यो पर्वलाई भव्यताका साथ मनाउन लागिएको बताए ।

उनले भने, ‘हामी आफ्नै साँघुरो घेराभित्र रमायौं होला, राष्ट्रिय चाडपर्व अब तमुको मात्र नभई हामी सबैको भएकाले एकता, सद्भाव, सांस्कृतिक एवं राष्ट्रियता सुदृढ गर्ने पर्वको रूपमा पोखराको ऐतिहासिक पुरानो टुँडिखेलमा तमु ल्होछार महोत्सवको रूपमा मनाउन लागिएको हो ।’ महोत्सवको पहिलो दिन पुस १४ गते बिहान साढे ११ बजे पोखराको नदिपुर प्रहरी चौकी अगाडिबाट झाँकी र्‍याली सुरु भई महोत्सव स्थल टुँडिखेलमा पुगेर उद्घाटन समारोहमा परिणत हुनेछ ।

Advertisement

महोत्सवमा तमु समुदायको मौलिक परम्परा, संस्कृति र भेषभूषा झल्कने झाँकी प्रदर्शन, खेलकुद प्रतियोगिता, लोकदोहोरी तथा कन्सर्ट जस्ता कार्यक्रम समावेश गरिएको छ । महोत्सव अवधिभर करिब ३० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकले गरेको छ । महोत्सवको मुख्य आकर्षणका रूपमा रहेको तमु ल्होछार भलिबल कपको विजेताले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने भलिबल खेल संयोजक अमृत गुरुङले जानकारी दिए ।

उपविजेताले ८० हजार रुपैयाँ पाउनेछन् भने सेमिफाइनलमा पुग्ने २ टिमलाई २५–२५ हजार रुपैयाँ र उत्कृष्ट टिमलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ । पुरुषतर्फको खुला छेलो प्रतियोगितामा प्रथम हुनेले ४० हजार रुपैयाँ, द्वितीयले २५ हजार रुपैयाँ र तृतीयले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

Advertisement

सामूहिक खुला लोकनृत्य प्रतियोगितामा प्रथम हुने टोलीले ७५ हजार रुपैयाँ, द्वितीयले ५० हजार रुपैयाँ, तृतीयले २५ हजार रुपैयाँ र सान्त्वना हुनेले १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । झाँकी ¥याली तथा झाँकी प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो हुनेलाई क्रमशः ६० हजार, ४० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । झाँकीमा सान्त्वना हुने ४ समूहलाई समान ५ हजार रुपैयाँ दरले प्रदान गरिनेछ । गुरुङ भेषभुषा तथा भाषा प्रतियोगिताका विजेताले क्रमशः ५ हजार, ४ हजार, ३ हजार र १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

महोत्सव गर्न अध्यक्ष हुमबहादुर गुरुङको संयोजकत्वमा २ सय १ सदस्यीय मूल आयोजक समिति र विभिन्न २६ उपसमिति गठन गरी काम भइरहेको छ । महोत्सवका लागि ३७ लाख १० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने ४१ लाख ५० हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको आयोजकले जानकारी दिएको छ । महोत्सवले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा समेत सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया