संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस

समाधान संवाददाता २०८२ मंसिर २१ गते १९:००

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा देशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस पनि कानुनी उपचार खोज्दै सर्वोच्च अदालत पुगेको छ । गत भदौ २७ गते गरिएको संसद् विघटनलाई असंवैधानिक ठहर्याउँदै कांग्रेसले आइतबार सर्वोच्चमा रिट निवेदन पेस गरेको हो ।

विघटित संसद्का प्रमुख सचेतक श्याम घिमिरे र सचेतक सुशीला थिङसहित ८ जना सांसदलाई निवेदक बनाएर रिट तयार पारिएको छ । कांग्रेसका तर्फबाट निर्वाचन समिति संयोजक एवं पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीलाई वारेस राखेर रिट पेस गरिएको हो । प्रक्रिया पुर्‍याएर उक्त रिट सोमबार दर्ता हुने बताइएको छ ।

Advertisement

शुक्रबार मात्रै कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच महाराजगन्जमा वार्ता भएको थियो । सोही भेटघाट र छलफलको निष्कर्षस्वरूप कांग्रेस पनि एमालेकै बाटो पछ्याउँदै न्यायिक लडाइँमा होमिएको हो ।

यसअघि नै नेकपा एमालेले संसद् विघटनविरुद्ध सर्वोच्चमा रिट दायर गरिसकेको छ । एमालेले कानुनी कदम चालेपछि कांग्रेसले पनि संसद् पुनःस्थापनाको माग गर्दै हस्ताक्षर अभियान चलाएको थियो । अहिले सोही अभियानलाई कानुनी रूप दिँदै कांग्रेस पनि एमालेसँगै कानुनी मोर्चामा उभिएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया