क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी

समाधान संवाददाता २०८२ मंसिर २१ गते १९:२५

काठमाडौं

विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । भक्तपुरको नलिन्चोकस्थित हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा सुनुवाइ गर्दै अदालतले उनलाई जेल पठाउने आदेश गरेको हो ।

विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले महानिर्देशक अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो ।

Advertisement

भण्डारीलाई धरौटी
सोही इजलासले प्राधिकरणका निर्देशक मुरारी भण्डारीसँग भने ५ लाख रुपैयाँ धरौटी माग गरेको छ । भण्डारी स्वयं निर्णयकर्ता नरहेको र केवल टिप्पणी पेस गर्ने प्रक्रियामा मात्र सहभागी देखिएको भन्दै इजलासले उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।

तर, महानिर्देशक अधिकारी आयोजनाको मुख्य जिम्मेवार र निर्णयकर्ता भएको ठहर गर्दै अदालतले उनलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश सुनाएको हो ।

Advertisement

के हो प्रकरण ?
भक्तपुरको नलिन्चोकमा निर्माण गरिएको हेलिपोर्टमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । हेलिपोर्ट निर्माणका क्रममा लागत इस्टिमेट अस्वाभाविक रूपमा बढाएको, गुणस्तरहीन काम गरेको र राज्यलाई हानि–नोक्सानी पुर्‍याएको दाबीसहित अख्तियारले अधिकारी र भण्डारीसहितका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको थियो । सोही मुद्दाको थुनछेक बहपछि अदालतले यस्तो आदेश दिएको हो

तपाईको प्रतिक्रिया