३५ औं नारायण गोपाल स्मृति दिवस

पोखरामा सांगीतिक प्रस्तुतिसहित स्वरसम्राटको सम्झना

समाधान संवाददाता २०८२ मंसिर २१ गते २१:१२

पोखरा– उत्प्रेरणा सांगीतिक मञ्च र सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा पोखरामा ३५ औं नारायण गोपाल स्मृति दिवस मनाइएको छ । रानीपौवास्थित जोजिजु म्युजिक स्कुलमा मंसिर १९ गते आयोजित ‘दोस्रो सांस्कृतिक शृंखला’ अन्तर्गत विभिन्न कलाकारले स्वरसम्राट नारायण गोपालका कालजयी गीतहरू गाएर उनलाई सम्झिए ।

कार्यक्रममा कलाकार सानु जोजिजुले ‘यति धेरै माया दिई’ बोलको गीतमा भायलािन वादन गरेका थिए । यस्तै, उत्प्रेम जोजिजुले ‘कसरी म भुले’, बाल गायिका उत्प्रेरणा जोजिजु र विनीत जोजिजुले ‘तिम्रो मनमा’, पशुपति गुप्ताले ‘यो मुटुलाई’, लक्ष्मी गिरीले ‘उदास मेरो जीवन कथा’ तथा नवराज बराल र पिंगला भट्टले ‘मान्छेको माया’ बोलको गीत प्रस्तुत गरे ।

Advertisement

गायक फिरोज गोपाल बज्राचार्यले ‘तिमीलाई म के भनुँ’, रोम तामाङले ‘म त लालीगुराँस भएछु’, विष्णु थापाले ‘मेरो आँखालाई राख्ने’, कोमन गुरुङले ‘आजभोलि दुख्दैन’, सुमन भण्डारीले ‘केही मिठो बात गर’ र राजन बरालले ‘वीरताको चिनो’ गाएका थिए । कलाकारहरूलाई वाद्यवादनमा पप्पु थापा मगर (हार्मोनियम), मिलन गिरी (तबला), पाण्डव गुरुङ (किबोर्ड), कृष्ण सेन्चुरी (प्याड ड्रम) र उत्प्रेम जोजिजु (गितार) ले साथ दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तीर्थ श्रेष्ठले नारायण गोपाल बहुआयामिक व्यक्तित्व भएको बताए । ‘उहाँमा वाद्यवादनदेखि गायन, संगीत र शब्द चयन गर्ने अद्वितीय क्षमता थियो, जसले गर्दा उहाँका गीतहरू सदाबहार छन्,’ श्रेष्ठले भने, ‘आजको पुस्ताले पनि रियालिटी सोहरूमा उहाँका गीत गाउनुले संगीत क्षेत्रमा नारायण गोपालको योगदान कति महत्त्वपूर्ण छ भन्ने पुष्टि हुन्छ ।’

Advertisement

पोखरा प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति एवं वरिष्ठ लोकगायक पदमराज ढकालले पोखरामा सांगीतिक गतिविधिमार्फत अग्रज स्रष्टाको सम्मान गरिएकोमा आयोजकलाई धन्यवाद दिए ।

सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष एवं संगीतकार नवराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक एवं जोजिजु म्युजिक सेन्टरका सञ्चालक विनीत जोजिजुले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सानु जोजिजुले गरेका थिए ।

तपाईको प्रतिक्रिया