सम्पादकीय—लेकसाइडमा सडकको सास्ती

समाधान संवाददाता २०८२ मंसिर २२ गते ९:२५

पोखराको पर्यटक केन्द्र लेकसाइड, जहाँ पर्यटकको घुइँचो लाग्छ । तर यहाँको सडक साँघुरो छ । सवारीको चाप भने अत्याधिक बढेको छ । विशेषगरी भारतीय पर्यटक बोकेका ठूला बसहरू जताततै रोकिन्छन् । यसले सडकलाई अस्तव्यस्त बनाएको छ । हामीले पर्यटकको संख्या मात्र हेर्यौं । व्यवस्थापन हेरेनौं । पूर्वाधार बिनाको विकासले विनाश निम्त्याउँछ । यो अहिले त्यही भएको हो । लेकसाइडको सडक बस बिसाउने ठाउँ होइन । यो पर्यटक टहल्ने थलो हो । तर सडक नै बसपार्क बनेको छ । पर्यटकलाई हिँड्न समेत सकस छ । यसै सन्दर्भमा सडकमा बस पार्किङ रोक्ने निर्णय भएको छ । यो निर्णय स्वागतयोग्य छ । यो ढिलो गरी आएको चेत हो । पोखराको सुन्दरता जोगाउन यो अनिवार्य थियो । सामुदायिक सेवा केन्द्र र प्रहरीको पहल सह्रानीय छ ।


केही वर्ष पहिले लेकसाइडलाई ‘नो भेइकल जोन’ बनाउने प्रयास भएको थियो । त्यो असफल भयो । स्थानीयले विरोध गरे । कारण स्पष्ट थियो । विकल्प दिइएको थिएन । बस रोक्ने निर्णय त भयो । तर दिगो विकल्प खोइ ? क्याम्पिङचोक र बसपार्कमा मात्र कति अट्छ ? यसको गहिरो अध्ययन हुन बाँकी छ । विश्वका धेरै पर्यटकीय सहरहरू सवारीमुक्त छन् । मानिसहरू हिँडेरै रमाइलो गर्छन् । ठमेलको उदाहरण हेर्न सकिन्छ । त्यहाँ सवारी रोक्दा व्यापार घट्ने डर थियो । तर उल्टो व्यापार बढ्यो ।

लेकसाइडमा पनि पैदल संस्कृति विकास गर्नुपर्छ । हल्लनचोकदेखि बाराहीचोकसम्म एकतर्फी सवारी चलाउने प्रस्ताव राम्रो छ । यसलाई तत्काल कार्यान्वयन गर्नुपर्छ । ठूला बसलाई निश्चित बिन्दुसम्म मात्र आउन दिनुपर्छ । त्यहाँबाट साना विद्युतीय सवारी वा सटल बसको व्यवस्था गर्नुपर्छ । ठूला मालवाहक गाडीलाई निश्चित समय तोक्नुपर्छ । रातीको समयमा मात्र सामान ओसारपसार गर्न सकिन्छ । यसो गर्दा दिउँसोको जाम कम हुन्छ । ट्राफिक संकेत बोर्डहरू राख्नुपर्छ । प्रविधिको प्रयोग गर्नुपर्छ ।

Advertisement


आफ्नो पार्किङ नहुने होटल, रेस्टुरेन्टले सडक कब्जा गर्न पाइँदैन । यो सार्वजनिक अपराध हो । सडक नागरिकको सम्पत्ति हो । यो कर तिर्ने जनताको हिँड्ने बाटो हो । यसलाई निजी पार्किङ बनाउनु अनैतिक हो । भद्रगोल ट्राफिकले दुर्घटनाको जोखिम बढाएको छ । सडकमा गाडीको लाम लाग्दा आपतकालीन सेवा समेत प्रभावित हुन्छन् । एम्बुलेन्स र दमकल छिर्न नसक्ने अवस्था आउन सक्छ । यो डरलाग्दो स्थिति हो । त्यसैले सडक खाली गराउनु विलासिता होइन । यो सुरक्षाको आवश्यकता हो । यसमा कसैले पनि राजनीति गर्नु हुँदैन ।

Advertisement

तपाईको प्रतिक्रिया