पोखरामा मानवअधिकार महाभेला सुरु

समाधान संवाददाता २०८२ मंसिर २२ गते १८:११

पोखरा ।
७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा १७ औं राष्ट्रिय मानव अधिकार महाभेला २०८२ को सप्ताहव्यापी कार्यक्रम सोमबारदेखि सुरु भएको छ । मानव अधिकार दिवसको उद्घाटन समारोहमा खुला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा २६ पिन्ट रगत संकलन भएको राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशका निर्देशक तथा सहसचिव नीतु गर्तौलाले जानकारी दिइन् ।

‘मानव अधिकार हाम्रो दैनिक आवश्यकता’ भन्ने नाराका साथ राष्ट्रिय मानव अधिकार आयोग, गैरसरकारी संस्था महासंघ नेपाल, इन्सेक, नेपाल रेडक्रस सोसाइटी लगायतका संघ, संस्थाको संयुक्त आयोजना कार्यक्रम भएको हो । मानव अधिकार दिवसको सन्दर्भमा मंगलबार भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस, बुधबार मानव अधिकार दिवसको अवसरमा चिप्लेढुंगा स्थित मानव अधिकारचोकबाट पोखरा सभागृहसम्म प्रभातफेरी ¥याली शुभकामना मन्तव्यसहित समापन, मानव अधिकार, स्वतन्त्र र स्वच्छ निर्वाचनबारेमा अन्तर पुस्ता सम्बाद, दीप प्रज्वलन लगायतका कार्यक्रम तय गरिएको गैसस महासंघ नेपालका केन्द्रीय सदस्य गोपाल खड्काले बताए ।

मानव अधिकार महाभेला ८ देखि १४ डिसेम्बरसम्म विविध कार्यक्रम गरी मनाउन लागिएको हो । जिल्ला समन्वय समिति कास्की प्रमुख लीलाधर पौडेलले मानव अधिकार महाभेलाको उद्घाटन गर्दै नेपालले मानव अधिकारको सवालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रतिबद्धता पूरा हुन नसकेको बताए । ‘संयुक्त राष्ट्र संघको मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणा, नेपालको संविधानले मानव अधिकारको सवालमा धेरै राम्रो व्यवस्था गरेको छ,’ उनले भने, ‘तथापि मानव अधिकारको सवाल सुनिश्चित हुन सकेको छैन ।’

Advertisement

उनले धेरै बालबालिकाको जन्मदर्ता र नागरिकता प्राप्तिमा समस्या रहेको जनाए । आयोगका निर्देशक गर्तौलाले गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, आयोग तथा मानव अधिकार महाभेला गण्डकीले संयुक्त रुपमा ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (१० डिसेम्बर) मुल समारोह समिति गण्डकी प्रदेशले विविध कार्यक्रम गरी मनाउने बताइन् । मानव अधिकार दिवसको मुल समारोहसँगै लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानसमेत समापन गर्ने कार्यक्रम तय भएको छ ।

गण्डकी प्रदेशमा रहेका मानव अधिकारको क्षेत्रमा कार्यरत सामाजिक संस्था र नागरिक समाजसँग समन्वयमा मानव अधिकार दिवस मनाउन लागिएको हो । मानवअधिकार दिवसको सन्दर्भमा आयोगले रत्नज्योति मावि पोखरामा अध्ययनरत ५० जना विद्यार्थीको सहभागितामा मानवअधिकार सचेतना कार्यक्रम गरेको छ ।

Advertisement

मानव अधिकार महाभेलाको उद्घाटन समारोहमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपसचिव सुरणकुमार पौडेल, नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति उर्मिला खड्का भण्डारी, निवर्तमान सभापति डण्डराज शर्मा पौडेल, इन्सेक गण्डकीका संयोजक गणेश भण्डारी, मानव अधिकारका लागि महिला एकल महिला समूह गण्डकी अध्यक्ष प्रमिला तझ्या, मानव अधिकार एलाइन्स गण्डकीका अध्यक्ष डा बुद्धिबहादुर थापा, महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीका पूर्वअध्यक्ष सवनम शर्मा लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया