समानुपातिक निर्वाचन अधिकृतको कार्यालय स्थापना, मन्त्रीहरूद्वारा बजेट र कानुनको सुनिश्चितता

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । निर्वाचन आउन ८६ दिन बाँकी रहँदा सोमबार आयोग परिसरमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कार्यालयको उद्घाटन गरे ।
समानुपातिकतर्फको निर्वाचन व्यवस्थापनका लागि आयोगका सचिव महादेव पन्थले निर्वाचन अधिकृतको जिम्मेवारी सम्हालेका छन् । उनलाई आयोगले मंसिर १२ गते नै यो जिम्मेवारी तोकेको थियो । यस्तै, सहसचिव यज्ञप्रसाद भट्टराईलाई सहायक निर्वाचन अधिकृत तोकिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
यो कार्यालयमा ४१ जना कर्मचारी खटिनेछन् । २७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक प्रणालीमार्फत निर्वाचित हुने संवैधानिक व्यवस्था छ ।
कार्यालय उद्घाटन गर्दै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले राष्ट्रिय तथ्यांक कार्यालयको सहयोगमा सूत्रात्मक पद्धति अपनाएर प्रतिनिधि चयन गरिने बताए । ‘कानुनबमोजिम जातीय, भौगोलिक तथा लैंगिक समूह छुट्याएर प्रतिनिधि छनोट हुने भएकाले यो प्रणालीमा सबै पक्षको भरोसा रहनेछ,’ उनले भने ।
बजेट अभाव हुन नदिने अर्थमन्त्रीको प्रतिबद्धता
यसैबीच, सोमबार नै अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र कानुनमन्त्री अनिलकुमार सिन्हाले आयोगका पदाधिकारीसँग भेटघाट गरेका छन् । छलफलमा अर्थमन्त्री खनालले निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाए ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका कानुनमन्त्री सिन्हाले निर्वाचनका लागि आवश्यक कानुनी सहायता उपलब्ध गराउने बताए । उनले निर्वाचन व्यवस्थापनमा स्वदेशी वस्तु र उत्पादनको प्रयोग बढाउन आयोगलाई आग्रह गरे ।
छलफलमा निर्वाचन आयुक्तहरू डा. जानकीकुमारी तुलाधर र सगुन शम्शेर जबराको पनि उपस्थिति थियो । मन्त्रीहरूसँगको छलफलले चुनावलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न मद्दत पुगेको प्रवक्ता भट्टराईले बताए ।








समानुपातिक निर्वाचन अधिकृतको कार्यालय स्थापना, मन्त्रीहरूद्वारा बजेट र कानुनको सुनिश्चितता
चरक हस्पिटल १४ औं वर्षमा : उत्कृष्ट कर्मचारी सम्मानित, बटुकलाई सहयोग
जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया