
पोखरा ।
विन्दा यादव प्रसूतिका लागि गण्डकी अस्पताल गएकी थिइन् । उनले दोस्रो सन्तानका रुपमा छोरा महेशलाई जन्म दिइन् । छोरा जन्मिएपछि परिवारमा खुसीयाली छायो तर त्यो खुसी धेरै बेर टिक्न सकेन । डाक्टरले ‘पेटदेखि नै अक्सिजनको कमी रहेछ, ऊ बाच्ने सम्भावना कम छ,’ भने ।
महेश जन्मदा निकै कमजोर थिए । उनी रुन पनि सकेनन् । उनको धड्कन चलेको थियो । तर महेशले हिम्मत हारेनन्, मृत्युलाई जितेर उनी बाँच्न सफल भए । त्यस दिन महेश नरुदाको क्षण विन्दाको मनमा कहिल्यै निको नहुने गाँठो बनेर बसेको छ । ‘जन्मेदेखि नै ३ महिनामा १५ दिन त अस्पताल बस्नुपथ्र्याे,’ उनले आँसु पुछ्दै भनिन्, ‘निमोनिया, टाइफाइड। ज्वरो आइरहन्थ्यो । अस्पताल धाउँदा धाउँदा पैसा सकिसकेको थियो । उपचार गर्नेसमेत पैसा नहुँदा ट्वाइलेटमा गएर कति रोए ।’
महेश ४ वर्षको हुँदा गण्डकी अस्पतालका डाक्टरले विन्दाको अवस्था देखेर निशुल्क उपचारको व्यवस्था मिलाइ दिए । अहिले पनि उनको निशुल्क उपचार हुँदै आएको छ । तर सबै औषधी त्यहाँ उपलब्ध नहुने भएकाले अन्य अस्पतालमा पनि जानुपर्छ । त्यहाँ भने पैसा तिरेर औषधी किन्ने यादवले बताइन् ।
महेश ८ महिनाको हुँदासम्म पनि केही हलचल गर्न नसकेपछि मात्र थाह भयो कि उनलाई मस्तिष्क पक्षघात भएको रहेछ । विन्दा सिरहाबाट २८ वर्षअघि श्रीमान दिनेश यादवसँग पोखरा आएकी थिइन् । उनको १४ वर्षकै उमेरमा बिहे भएको थियो । त्यस बेला उनका श्रीमान् २२ वर्षका थिए ।
महेशका बुवा सिर्जनाचोकको भानु मेशिनरी पसलमा काम गर्छन् । उनको सामान्य जागिरले घर खर्च धान्न मुस्किल छ । महेशको राम्रोसँग हेरचाह होस् र उनलाई अनुकूल वातावरण होस् भनेर छिमेकी कम भएको ठाउँमा महिनाको १३ हजार भाडा तिरेर पोखरा ८ सिर्जनाचोकमा बसेका छन् ।
विन्दाकी ठूली छोरीको बिहे भइसकेको छ भने सानी ९ वर्षकी छोरी न्यु मोडेल माविमा ४ कक्षामा पढ्छिन् । २१ वर्षका महेश हँसिला छन् । उनी हिँड्न, बोल्न सक्दैनन् तर अरुको कुरा सुनेर अनुहारको भावले प्रतिक्रिया दिन सक्छन् । आमाले उनले दुख दिएको कुरा अरुलाई सुनाउँदा रिसाउँछन् पनि ।
जन्मिँदै मस्तिष्कघात भएका महेश अहिले २१ वर्षका भए । आमा विन्दा अझै छोराको हेरचाहमा तल्लीन छिन् ।
‘महेश हिम्मतिलो छ । उसले फेसबुक, युटुब, चलाउन, फोन गर्न सक्छ । उसले हामी बोलेको सबै बुझ्छ,’ विन्दाले भनिन्, ‘ऊ विद्यालय जान पायो भने केही गर्न सक्थ्यो । तर दिवा सेवा केन्द्र महंगो छ । महिनाको ५ हजार रुपैयाँ फी छ, कसरी खर्च धान्ने ? यस्ता बालबालिकालाई सरकारले हेनुपर्ने हो तर सरकारलाई यस्ता बालबालिकाबारे थाहै छैन ।’
महेशले सामाजिक सुरक्षा भत्तावापत मासिक ८ हजार रुपैयाँ पाउने आमा विन्दाले जानकारी दिइन् । महेशलाई पोखराभन्दा सिराहा बस्न मन पर्ने उनको भनाइ छ । श्रीमान, छोरी यता भएकाले सिरहामा बस्न सम्भव नभएको उनी बताउँछिन् । महेशका लागि वर्षमा २ पटक सिरहा जान्छिन् उनी ।
उनले सिलाइ कटाइको तालिम लिएर टेलर सञ्चालन गरिन् तर ६ महिनामै बन्द गर्नुप¥यो । दिनभरी छोरालाई हेरेर बस्नुपर्ने भएकाले जानेको सीप पनि उपयोग गर्न पाइनन् । महेश अहिले चिच्याउने, ठूलो आवाजमा कराउने, रुने, खान नमान्ने गर्न थालेका छन् । त्यसले विन्दालाई चिन्ता थपेको । छोराको अवस्था देख्दा उनी राम्रोसँग सुत्न, खान पनि सक्दिनन् । औषधी खानुपर्ने अवस्था भएको छ तर विन्दाले हिम्मत हारेकी छैनन् ।
उनले महेशको राम्रोसँग हेरचाह गरिरहेको बताइन् । जस्तो भए पनि आफ्नो सन्तानको माया लाग्ने र आमाका लागि सबै सन्तान हुने उनी तर्क गर्छिन् । छोराको मुस्कानले दुख बिर्साइदिने उनले सुनाइन् । कतैबाट सहयोग पाए पनि प्राप्त गर्न झन्झटिलो रहेको उनको गुनासो छ । कागजपत्र, सिफारिस लिएर गयो, एक ठाउँबाट अर्काे ठाउँ पठाउँछ, अनि अन्तिममा जवाफ आउँछ भोली आउनू !
दुखै गरेर भए पनि खान, लाउन पुगेको तर फिजियोथेरापीका लागि भने सहयोग पाउन सकेमा राहत पुग्ने उनले बताइन् । ‘समुदायमा आधारित पुनर्वास सेवा’ले अपांगता भएका बालबालिकालाई सहयोग गर्छ,’ उनी भन्छिन् । अहिले संस्था आफैं आर्थिक संकटमा भएकाले सहयोग गर्न सक्ने अवस्था नरहेको उनले जानकारी दिइन् । पोखरामा महेश जस्ता बालबालिका थुप्रै रहेको बताउँदै उनले यस्ता बालबालिकाका लागि बासगाँस, स्वास्थ्य उपचार, शिक्षाको व्यवस्था हुनुपर्ने माग गरिन् ।
‘एक्लै भएर डिप्रेसनमा गएको जस्तो लागेको छ । मोबाइलको लत लागेको छ । दिवा सेवा केन्द्रमा पठाउन सके उसले आफूजस्तै साथीहरु भेट्ने थियो । केही सिक्ने थियो साथै उसको अवस्थामा सुधार आउने थियो,’ उनी भन्छिन्, ‘उसको मानसिक स्वास्थ्यमा सुधार आउने थियो । दिवा सेवा केन्द्र सञ्चालन गर्न उनले सहयोग गरेको भए पनि मासिक फी महंगो भएकाले महेशलाई पठाउन सकेकी छैन ।’


प्रमिला कुँवर
पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् ।








मृत्यु जितेका महेश
भ्रष्टाचारको चक्रव्यूह र ‘जेनजी’ को विद्रोह
सम्पादकीय—हरेक संवतमा उत्सव मनाऔं
समानुपातिक निर्वाचन अधिकृतको कार्यालय स्थापना, मन्त्रीहरूद्वारा बजेट र कानुनको सुनिश्चितता
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया