बिरुवामा १० शय्याको आधारभूत अस्पताल सञ्चालन

स्याङ्जा । सामान्य उपचारका लागि पनि पोखरा वा काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य गर्दै स्याङ्जाको बिरुवा गाउँपालिका–६ चिन्नेबासमा १० शैयाको आधारभूत अस्पताल सञ्चालनमा आएको छ । ‘सामाजिक विकासका लागि सहयोगी हातहरू’ नामक संस्था र गाउँपालिकाको संयुक्त लगानीमा १ करोड ७४ लाख ८० हजार रुपैयाँ खर्चेर अस्पताल निर्माण गरिएको हो ।
सात रोपनी क्षेत्रफलमा फैलिएको यो अस्पतालका लागि संस्थाले सुविधासम्पन्न भवन बनाएर चिन्नेबास स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको थियो । गत आर्थिक वर्षमा गाउँपालिकाले आफ्नै स्रोतबाट थप भौतिक पूर्वाधार निर्माण गरी यसलाई १० शैयाको अस्पतालका रूपमा पूर्णता दिएको हो । अस्पताल सञ्चालनमा आएसँगै गाउँमै ओपिडी, आकस्मिक सेवा, एक्सरे, भिडियो एक्सरे, सिबिसी, एलएफटी, आरएफटी लगायतका प्रयोगशाला सेवा सुरु भएका छन् ।
गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरले गाउँमै भरपर्दो स्वास्थ्य सेवा विस्तार हुँदा स्थानीयलाई ठुलो राहत मिलेको बताए । ‘स्वस्थ नागरिक नै विकासको मेरुदण्ड हो,’ अध्यक्ष कुँवरले भने, ‘अब सामान्य उपचारका लागि सहर पस्नुपर्ने बाध्यता हटेको छ । हामी अस्पताललाई आधुनिक उपकरण र दक्ष जनशक्ति थपेर अझ सुदृढ बनाउँदै लैजान्छौँ ।’ उनले नागरिकको स्वास्थ्यमा सहज पहुँच र आपत्कालीन उपचार सुनिश्चित गर्न अस्पताल सञ्चालन गरिएको जनाए ।
अस्पतालमा एक जना एमबिबिएस डाक्टरसहित ९ जना स्वास्थ्यकर्मी कार्यरत छन् । प्रमुख प्रशासकीय अधिकृत पर्शुराम पोखरेलका अनुसार डाक्टरका अलावा रेडियोग्राफर सुपरभाइजर, हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन, स्टाफ नर्स, अनमी, अहेव र फार्मेसी सुपरभाइजरले सेवा दिइरहेका छन् । विशेष गरी गर्भवती महिला, बालबालिका र आकस्मिक बिरामीलाई गाउँमै उपचार पाउन सहज भएको छ । पोखरेलले आगामी वर्षदेखि अल्ट्रासोनोग्राफी र दन्त सेवा पनि थप गर्ने तयारी भइरहेको जानकारी दिए ।
यसैबीच, नवनिर्मित अस्पतालको उद्घाटन गर्दै गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले आवश्यक सहयोगको प्रतिबद्धता जनाएका छन् । मन्त्री पाठकले अस्पतालको सेवा विस्तारका लागि चाहिने उपकरण र भौतिक पूर्वाधारमा प्रदेश सरकारका तर्फबाट पूर्ण सहयोग रहने बताए ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया