घरको फोहोर पानी मिसाउन पक्की सडकको नाली फुटाइयो, कानुन विपरीत गर्नेको विवरण संकलन

पोखरा । मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड) ले पोखरा महानगरपालिकाभित्रका सडक छेउका घरधनीले जथाभावी नाली फुटाएर फोहोर पानी मिसाएको भन्दै आपत्ति जनाएको छ । एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा निर्माणाधीन जामुने–पोखरा खण्डअन्तर्गत सेती–कोत्रे क्षेत्रमा स्थानीयले नवनिर्मित संरचना बिगारेपछि आयोजनाले सम्बन्धित वडा कार्यालयहरूलाई पत्र पठाउँदै यस्तो कार्य रोक्न आग्रह गरेको हो ।
आयोजना प्रमुख कृष्णबहादुर कुँवरले आइतबार (मंसिर २१ गते) पोखराका वडा नम्बर १०, १४, २६, २७, २९, ३० र ३२ का वडा कार्यालयलाई पत्र लेख्दै सार्वजनिक सम्पत्तिको नोक्सानी रोक्न पहलकदमीका लागि अनुरोध गरेका छन् । निर्माण व्यवसायीले बजार क्षेत्रमा ‘सर्भिस लेन’ बनाउँदै गर्दा स्थानीयले घरको ‘वेस्ट वाटर’ (फोहोर पानी) व्यवस्थापन गर्न भन्दै नाली फुटाउने र ‘सर्भिस लेन’ मा गाड्नका लागि खाडल खन्ने गरेको पाइएको छ ।
स्थानीयले ‘एचडिपिइ’ पाइपमार्फत घरको फोहोर पानी सडकको नालीमा जोड्ने गरेका छन् । यसका लागि उनीहरूले ‘सर्भिस लेन’ मा पाइप गाड्ने, नाली फुटाउने र निर्माण भइसकेको ‘सब–बेस’ समेत खन्ने गरेको आयोजनाले जनाएको छ । यस्तो क्रियाकलापले ‘सर्भिस लेन’ को दिगोपनामा असर पर्नुका साथै सार्वजनिक सम्पत्तिको क्षति भएको कुँवरले उल्लेख गरेका छन् ।
आयोजनाका अनुसार सडक छेउको नाली वर्षायामको पानी व्यवस्थापन गर्न मात्र डिजाइन गरिएको हो, घरबाट निस्कने फोहोर पानीका लागि होइन । हाल निर्माण गरिएको नालीमा ‘कभर’ को व्यवस्था नभएको (सुरक्षाका लागि डब्लु–बिम क्र्यास ब्यारियर मात्र राखिएको) हुनाले फोहोर पानी नालीमा मिसाउँदा जम्ने, दुर्गन्ध फैलिने र अन्य रोगहरू लाग्ने जोखिम हुन्छ ।
महानगरपालिकाको अग्रसरतामा घरधनीले नै आफ्नो पानीको व्यवस्थापन गर्ने गरी पटकपटक छलफल भएको र यसअघि कात्तिक २ गते पनि पत्रमार्फत अनुरोध गरिएको भए पनि स्थानीयले अटेर गरेको आयोजनाको गुनासो छ । आयोजनाको अनुमतिबिना सडक खन्ने र सार्वजनिक सम्पत्तिमा नोक्सानी पुर्याउने कार्य सार्वजनिक सडक ऐन २०३१ विपरीत रहेको भन्दै आयोजनाले सचेत गराएको छ ।
साथै, आयोजनाले परामर्शदाता कम्पनीलाई सडकको नाली फुटाएर घरको फोहोर पानी मिसाउने घरधनीहरूको विवरण तयार पार्न निर्देशनसमेत दिएको छ ।








घरको फोहोर पानी मिसाउन पक्की सडकको नाली फुटाइयो, कानुन विपरीत गर्नेको विवरण संकलन
‘आर्थिक दायित्वबाट सुरक्षित रहन बिमाको आवश्यकता’
पोखरा सडक महोत्सवमा पहिलो पटक ‘ह्यान्डि क्राफ्ट एन्ड गार्मेन्ट मार्ट’ हुँदै
यामाहाको ‘ब्लु क्याम्प’ सुरु : लेबर चार्जमा ५० प्रतिशत छुट, मर्मतमा सतप्रतिशत क्यासब्याकको अवसर
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया