हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने

समाधान संवाददाता २०८२ मंसिर २३ गते १६:५३

पोखरा ।
पोखरामा हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु १६ अन्तर विद्यालय पुरुष टि २० क्रिकेट प्रतियोगिता हुने भएको छ । यही मंसिरको २५ देखि पुषको ६ गतेसम्म पोखरा क्रिकेट मैदानमा प्रतियोगिता हुने भएको हो ।


हिमालय क्रिकेट एकेडेमीको प्रायोजन, पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा कास्की जिल्ला क्रिकेट संघको आयोजनामा हुने उक्त प्रतियोगितामा कास्कीका १२ विद्यालयको सहभागिता रहने प्रतियोगिता संयोजक वीरेन्द्र पुनले जानकारी दिए ।

प्रतियोगितामा ग्लोबल कलेजियट स्कुल, रत्नज्योति सेकेन्डरी स्कुल, कुमुदिनी होम्स, प्रतिभा सेकेन्डरी स्कुल, हार्वड सेकेन्डरी स्कुल, त्रिवेणी सेकेन्डरी स्कुल, हिमालयन सेकेन्डरी स्कुल, नवीन मावि, जनप्रकाश मावि, टप्स सेकेन्डरी स्कुल, डायमन्ड सेकेन्डरी स्कुल, लभिन रेसिडेन्सल स्कुलको सहभागिता रहनेछ ।

Advertisement


कास्की जिल्ला क्रिकेट संघले प्रतिभालाई सुरुवाती उमेरमै प्लेटफर्म उपलब्ध गराउने र जिल्लाबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने लक्ष्यसहित उक्त प्रतियोगिता गर्न लागेको पुनले बताए । प्रतियोगिता टि २० फम्र्याटमा सञ्चालन हुने भएकाले आधुनिक क्रिकेटको माग अनुसार युवा खेलाडीलाई क्षमतापरीक्षण गर्न पूर्ण अवसर प्रदान हुने आयोजकले विश्वास लिएको छ ।


प्रतियोगितामार्फत जिल्ला टिम छनोटसमेत हुनेछ । प्रतियोगिता सम्पन्न भएपछि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सोही उमेर समूहको राष्ट्रिय खेलअघि बन्द प्रशिक्षणमा राखिने भएको छ । बन्द प्रशिक्षणबाट छनोट गरिएका खेलाडीबीच प्रतिस्पर्धा गरी च्यालेन्जर कपको प्रदर्शनलाई आधार मानेर कास्की जिल्ला यु–१६ पुरुष टोलीको अन्तिम छनोट गरिने भएको छ ।

Advertisement


१२ टिमलाई ३ टिमका बनाएर ४ समूहबीच उक्त प्रतियोगिता सञ्चालन हुनेछ । प्रत्येक टिम विजेता सेमीफाइनलमा प्रवेश गर्ने छन । प्रतियोगितामा टिमतर्फ विजयी टोलीले ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता टोलीले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगितामा व्यक्तिगत विधातर्फ हिमालय क्रिकेट एकेडेमीले प्रतिभा प्रोत्साहन स्वरुप उत्कृष्ट खेलाडीका लागि प्लेयर अफ दी म्याचलाई एकेडेमीको भर्ना फीमा २५ प्रतिशत छुट, प्लेयर अफ दी सेरिजलाई एकेडेमीको भर्ना फिमा शत प्रतिशत छुट, बेस्ट बलर र बेस्ट ब्याटरलाई एकेडेमीको भर्ना फिमा ५० प्रतिशत छुट र उदीयमान खेलाडीलाई शतप्रतिशत भर्ना छुटको व्यवस्था मिलाइएको हिमालय क्रिकेट एकेडेमीका अध्यक्ष शक्ति बरालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया