अझै हटाएनन् ६८ अनलाइनले बालेनका पिताको निधनको समाचारबाट यमबुद्धका पिताको तस्बिर

एक अनलाइनले त ‘काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको निधन भएको छ’ भन्नेसमेत समाचार सम्प्रेषण गरेको

समाधान संवाददाता २०८२ मंसिर २३ गते १७:४०

पोखरा
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका पिताको निधन हुनासाथ चल्तका समाचार अनलाइनमै पनि र्‍यापर यमबुद्धका पिताको तस्बिर राखेका थिए । तर व्यावसायिक धर्म निर्वाह गर्दै तिनले तस्बिर सच्याए र माफी पनि मागे । तर सुरुमा तिनै अनलाइनबाट तस्बिर कपी पेस्ट गरेका थुप्रै अनलाइनले भने अझै पनि बालेनका पिताको निधनको समाचारमा अझै पनि जीवित व्यक्ति (र्‍यापर यम बुद्धका पिता) को तस्बिर प्रयोग गरिरहेको पाइएको छ । प्रेस काउन्सिल नेपालले मंगलबार एक विज्ञप्ति जारी गर्दै सचेत गराउँदा पनि ६८ वटा अनलाइन सञ्चार माध्यमले गलत तस्बिरसहितको समाचार नहटाएको जनाएको छ ।


काउन्सिलको अनुगमनका क्रममा बालेनका पिताको मृत्युको समाचारमा जीवित व्यक्ति अम्बिकाप्रसाद अधिकारीको तस्बिर राखी तथ्यहीन सामग्री सम्प्रेषण भइरहेको भेटिएको हो । प्रेस काउन्सिल नेपालका सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समयमा पनि सोही विषयलाई ध्यानमा राखी थप अनुगमन गर्दा अझै ६८ वटा अनलाइनबाट गलत तस्बिरसहितको सामग्री अझै कायम नै रहेका देखिएको छ ।’


मंसिर १५ गते मेयर शाहका पिता रामनारायण शाहको निधन भएको थियो । सोही दिन सिभिल अस्पतालमा उपचाररत शाहको निधनको समाचार सम्प्रेषण गर्ने क्रममा सुरुमा १९ वटा अनलाइन मिडियाले जीवित व्यक्ति अधिकारीको तस्बिर प्रयोग गरेका थिए । अझ एक अनलाइनले त ‘काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको निधन भएको छ’ भन्नेसमेत समाचार सम्प्रेषण गरेको अनुगमनबाट देखिएको काउन्सिलले जनाएको छ ।

Advertisement


काउन्सिलको मौखिक निर्देशनपछि केही मिडियाले तत्कालै तस्बिर सम्पादन गरी क्षमायाचनासहित भूलसुधार गरे पनि धेरैले अझै सोही गल्ती दोहोर्याइरहेका छन् । काउन्सिलले त्यस्ता अनलाइन सञ्चार माध्यमलाई तत्काल क्षमायाचनासहित तस्बिर सम्पादन गर्न वा गराउन निर्देशन दिएको छ ।


काउन्सिलले ‘को छिटो हुने’ होडबाजी र कपी/पेस्ट शैलीमा तथ्यगत पुष्टिबेगर समाचार लेख्दा मानिसको जीवनसँग सम्बन्धित मानवीय संवेदना र असंम्बन्धित व्यक्तिलाई पीडा पुगेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘सञ्चार माध्यमबाट सम्प्रेषण हुने सामग्रीले मानवीय संवेदना र व्यक्तिगत जीवनमा समेत आँच पुग्न जाने र त्यसको क्षतिपूर्ति नहुने हुँदा सजग रहन तथा तथ्यगत पुष्टिबेगर गलत/भ्रमपूर्ण सामग्री सम्प्रेषण नगर्न/नगराउन सञ्चार माध्यम, पत्रकार र सम्बद्ध पक्षलाई अनुरोध गर्दछ ।’ गलत विवरण सम्प्रेषण गर्ने अनलाइन सञ्चार विवरण काउन्सिलको वेबसाइटमा राखिएको जनाइएको छ ।

Advertisement
यो तस्बिर बालेनकै पिता रामनारायण साहको हो ।

तपाईको प्रतिक्रिया