पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : प्रदीप अधिकारीलाई ५ लाख र भण्डारीलाई १ लाख धरौटी

काठमाडौँ– विशेष अदालतले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको अभियोग लागेका नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक प्रदीप अधिकारी र मुरारी भण्डारीलाई धरौटीमा छाड्ने आदेश दिएको छ ।
मंगलबार थुनछेक बहसपछि विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य डिल्लीरत्न श्रेष्ठको इजलासले अधिकारीसँग ५ लाख र भण्डारीसँग १ लाख रुपैयाँ धरौटी माग गरेको हो ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम अदालतले उनीहरूलाई धरौटीमा राखेर पुर्पक्ष गर्ने आदेश दिएको हो । तर, धरौटी बुझाए पनि पूर्वमहानिर्देशक अधिकारी भने तत्काल रिहा हुने छैनन् । भक्तपुरको नलिञ्चोकस्थित हेलिपोर्ट निर्माण प्रकरणमा उनी यसअघि नै जेल चलान भइसकेका कारण थुनामै रहनेछन् ।
के थियो अभियोग ?
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थलको निर्माण लागत अस्वाभाविक रूपमा बढाएर राज्यलाई हानि पुर्याएको दाबी गर्दै मुद्दा दायर गरेको थियो । आयोगले प्रतिवादीहरूले स्वीकृत लागत अनुमानभन्दा ७.४३ मिलियन अमेरिकी डलर (करिब ८ अर्ब ३६ करोड रुपैयाँ) बढी भुक्तानी गरेर भ्रष्टाचार गरेको आरोप लगाएको छ ।
बहसका क्रममा सरकारी वकिलहरूले प्रतिवादीहरूलाई थुनामै राखेर कारबाही अघि बढाउनुपर्ने माग गरेका थिए । यता, प्रतिवादीका तर्फबाट बहस गर्ने कानुन व्यवसायीहरूले भने यो परियोजना दातृ राष्ट्र चीनको सहुलियतपूर्ण ऋणमा ‘इपिसी’ मोडल र ‘फिडिक’ निर्देशिकाअनुसार सञ्चालन भएकाले नेपालको सार्वजनिक खरिद ऐन आकर्षित नहुने जिकिर गरेका थिए ।
लागत वृद्धिको निर्णयमा प्रतिवादीहरूको निर्णायक भूमिका नरहेको र परियोजना समयमै सम्पन्न भएकाले साधारण तारेखमा राख्नुपर्ने उनीहरूको तर्क थियो ।
अदालतले मिसिल अध्ययनपछि यो बहुवर्षीय परियोजना भएको र निर्णय प्रक्रियामा विभिन्न तहका अधिकारी संलग्न रहेको निष्कर्ष निकालेको छ । प्रतिवादीहरूले आ–आफ्नो भूमिकामा केही समय मात्र जिम्मेवारी सम्हालेको र अहिले नै थुनामा राख्नुपर्ने औचित्य नदेखिएको भन्दै धरौटी माग्ने आदेश भएको हो ।
आदेशमा माग गरिएको धरौटी रकम नबुझाएमा कानुनबमोजिम थुनामा पठाउन भनिएको छ ।








पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : प्रदीप अधिकारीलाई ५ लाख र भण्डारीलाई १ लाख धरौटी
अझै हटाएनन् ६८ अनलाइनले बालेनका पिताको निधनको समाचारबाट यमबुद्धका पिताको तस्बिर
हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
बास्कुनाको सुन्तला बगान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया