उज्यालो नेपाल पार्टीको गण्डकी भेला: मन्त्री कुलमान घिसिङ मंसिर २७ मा पोखरा आउँदै

समाधान संवाददाता २०८२ मंसिर २४ गते ५:५०

पोखरा ।

वर्तमान सरकारमा भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको महत्त्वपूर्ण जिम्मेवारी सम्हालिरहेका मन्त्री कुलमान घिसिङ उज्यालो नेपाल पार्टीको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्न पोखरा आउने भएका छन्।

पार्टीका केन्द्रीय सदस्य कुशल गुरुङले दिएको जानकारी अनुसार मन्त्री घिसिङ आगामी मंसिर २७ गते पोखराको चाउथेस्थित सेन्ट्रल भिल्ला ब्याङ्क्वेटमा आयोजना हुने विशेष भेलामा प्रमुख अतिथिका रूपमा सहभागी हुन लागेका हुन्। उज्यालो नेपाल पार्टीले संगठन विस्तार अभियानलाई तीव्रता दिइरहेको सन्दर्भमा गण्डकी प्रदेशमा हुन लागेको यो भेलालाई निकै महत्वका साथ हेरिएको छ। केन्द्रीय सदस्य गुरुङका अनुसार कार्यक्रम बिहान १०:३० बजे सुरु हुनेछ।

Advertisement

उनले यस भेलामा सहभागी हुनका लागि सम्पूर्ण पार्टी सदस्य, शुभचिन्तक तथा आम सर्वसाधारणलाई हार्दिक निमन्त्रणा समेत गरेका छन्। नेपाल विद्युत प्राधिकरणको नेतृत्वमा रहँदा देशलाई लोडसेडिङमुक्त बनाएर उच्च लोकप्रियता कमाएका घिसिङको वैचारिक नेतृत्व र संरक्षकत्वमा ‘उज्यालो नेपाल पार्टी’ अघि बढिरहेको छ।

काठमाडौंमा घोषणा पत्र र केन्द्रीय समिति सार्वजनिक गरेलगत्तै पार्टीले देशव्यापी संगठन निर्माणको काम थालेको छ। विकासे मन्त्रालयहरूको नेतृत्व गरिरहेका घिसिङको पोखरा आगमनले यहाँका विकास निर्माणका मुद्दा र पार्टीको आगामी कार्यदिशाबारे स्पष्ट पार्ने अपेक्षा गरिएको छ। पोखराका युवा उद्यमी तथा पार्टीका केन्द्रीय सदस्य कुशल गुरुङको संयोजनमा हुन लागेको यस भेलाले गण्डकी प्रदेशमा पार्टीको बलियो उपस्थिति जनाउने र आगामी रणनीतिका विषयमा ठोस योजना तय गर्ने विश्वास लिइएको छ। मन्त्री घिसिङले यस भेलामार्फत कार्यकर्ता तथा शुभचिन्तकहरूलाई समसामयिक राजनीति र विकासको मोडलबारे विशेष सम्बोधन गर्ने कार्यक्रम छ।

Advertisement

तपाईको प्रतिक्रिया