स्याङ्जाको कोल्मामा पुस ८ गते राष्ट्रिय स्तरको ‘क्रस कन्ट्री’ दौड हुँदै

समाधान संवाददाता २०८२ मंसिर २४ गते ६:२४

पोखरा । स्याङ्जाको कोल्मा बराहचौरमा आगामी पुस ८ गते छैटौँ संस्करणको राष्ट्रिय स्तरको ‘क्रस कन्ट्री’ दौड प्रतियोगिता हुने भएको छ । रित्तिँदै गएको गाउँबस्तीलाई खेलकुद र पर्यटनमार्फत उकास्ने उद्देश्यले ‘सात सय कोल्मा बहाकोट सम्पर्क मञ्च’ ले प्रतियोगिता आयोजना गर्न लागेको हो ।

रोजगारीका लागि विदेशिएका र सहर पसेकाहरूलाई गाउँसँग जोड्न, पुर्ख्यौली थलोको विकास गर्न र स्थानीय संस्कृतिको संरक्षण गर्न प्रतियोगिता निरन्तर गरिँदै आएको मञ्चका अध्यक्ष दूतप्रसाद गुरुङले जानकारी दिए ।

‘विदेशमा रहेकाहरूको भावनालाई गाउँको विकाससँग जोड्न यो अभियान थालिएको हो,’ अध्यक्ष गुरुङले भने, ‘खेलकुद र पर्यटनमार्फत ग्रामीण अर्थतन्त्र चलायमान बनाउन र गाउँलाई रित्तिनबाट जोगाउन सकिन्छ भन्ने हाम्रो विश्वास छ ।’ प्रतियोगितासँगै स्थानीय लोक संस्कृति प्रदर्शन र होमस्टे साँझसमेत आयोजना गरिने उनले बताए ।

Advertisement

६ विधामा प्रतिस्पर्धा, २५ किमी विजेतालाई ५० हजार

प्रतियोगितामा विभिन्न ६ विधामा प्रतिस्पर्धा हुनेछ । जसमा खुला पुरुष तथा महिला २५ किमी, खुला महिला १० किमी, २१ वर्षमुनि पुरुष १० किमी, छात्र–छात्रा ५–५ किमी र ३० वर्षमाथिका महिलाका लागि ‘रन फर फन’ लुंगी दौड समावेश छन् ।

Advertisement

२५ किमी दौड (पुरुष/महिला) तर्फ प्रथम हुनेले ५० हजार, द्वितीयले ४० हजार र तृतीयले ३० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, १० किमी महिला र २१ वर्षमुनि पुरुषतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ प्रदान गरिनेछ ।

विद्यार्थी (५ किमी) तर्फ क्रमशः ८ हजार, ५ हजार र ३ हजार तथा लुंगी दौडमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ पुरस्कार राशि तोकिएको छ । प्रतियोगितामा दशौँ स्थानसम्म आउने खेलाडीलाई नगद, प्रमाणपत्र र मेडल दिइनेछ । साथै, ‘सात सय कोल्मा बहाकोट’ क्षेत्रभित्रका उत्कृष्ट एक खेलाडीलाई ५ हजार रुपैयाँ प्रोत्साहन पुरस्कार दिइने आयोजकले जनाएको छ ।

दौडको रुट

२५ किमीको दौड कोल्मा बराहचौरबाट सुरु भई काहुले, डाँडास्वाँरा, नाम्चे, काल्खु, शुक्लागण्डकी–११ खल्लुभोट, बिसाउना, बिरुवा–४ खुदी, मड्किना हुँदै पुनः कोल्मामै आएर टुंगिनेछ ।

यस्तै, १० किमीका धावकहरू कोल्माबाट काहुले, ज्यामिरे, भैँसेगौडा, राङभाङ हुँदै सोही स्थानमा फर्कनेछन् भने ५ किमीका धावक पोखरीछाप, बासपानी, रामचौतारा हुँदै कोल्मा बराहचौरमा आएर दौड पूरा गर्नेछन् ।

प्रतियोगिता सम्पन्न गर्न कोल्मा बहाकोट समाज युके, युके आमा समूह, गण्डकी प्रदेश खेलकुद परिषद्, पुतलीबजार र शुक्लागण्डकी नगरपालिका, स्याङ्जा सहयोग समाजलगायतका संघसंस्थाले सहयोग गरेको मञ्चका महासचिव जीवन पोखरेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया