ओली संख्या बढाउने दाउमा, पोखरेल पक्ष ‘दुई कार्यकाल’ को अडानमा

काठमाडौँ– नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले तीन महिनाअघि विधान महाधिवेशनबाट पारित विधान पुनः संशोधन गर्ने तयारी थालेका छन् । आगामी महाधिवेशनमा आफ्नै पक्षका आकांक्षी नेताहरूको व्यवस्थापन गर्न सकस भएपछि ओलीले पदाधिकारी संख्या बढाउने गरी विधान फेरबदल गर्न लागेका हुन् ।
गुन्डुस्थित निवासमा भेट्न पुग्ने नेता–कार्यकर्तासँग ओलीले विधान संशोधनको संकेत दिने गरेका छन् । तीन महिनाअघि मात्र पारित विधान फेर्ने तयारीसँगै नेतृत्वको ‘दूरदर्शिता’ माथि प्रश्न उब्जिएको छ ।
के–के फेरिँदैछ ?
विधान महाधिवेशनले पदाधिकारीको संख्या घटाएर १५ सदस्यीय (अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव ३ र सचिव ७) बनाएको थियो । तर, आकांक्षीको भीड व्यवस्थापन गर्न ओलीले विशेषगरी उपाध्यक्ष र सचिवको संख्या बढाउने तयारी गरेका छन् ।
नेताहरूका अनुसार दुईवटा विकल्पमा छलफल भइरहेको छ । पहिलो उपाध्यक्षको संख्या दुई थपेर पाँच पुर्याउने र दोस्रो सचिवको संख्या सातबाट बढाएर ९ वा ११ पुर्याउने ।
यस्तै, पदाधिकारी नै स्थायी कमिटी रहने व्यवस्था उल्ट्याएर छुट्टै स्थायी कमिटी ब्युँताउने र केन्द्रीय कमिटीको आकार पनि २५१ बाट बढाएर ३०१ नै कायम गर्ने सम्भावना बढेको छ ।
पोखरेल पक्षको काउन्टर : ‘संशोधन गर्ने भए दुई कार्यकाल राखौँ’
अध्यक्षमा उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षले भने आफूअनुकूल विधान चलाउन नहुने भन्दै आपत्ति जनाएको छ । पोखरेल पक्षले विधान संशोधन नै गर्ने हो भने ‘एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने’ व्यवस्था ब्युँताउनुपर्ने अडान अघि सारेको छ । यो व्यवस्था लागू भएमा ओली पुनः अध्यक्ष बन्न पाउने छैनन् ।
उपाध्यक्ष सुरेन्द्र पाण्डेले महाधिवेशनको मुखमा विधान चलाउन आवश्यक नरहेको बताए । ‘विधान परिवर्तन गर्ने नै कुरा हो भने दुई कार्यकालको कुरा पहिले गर्नुपर्यो, पहिले विधानमा भएको व्यवस्था त्यही थियो,’ पाण्डेले भने, ‘बाँकी केही गर्नुपर्यो भने गरौँला भन्ने हाम्रो अडान हुन्छ ।’
पोलिटब्युरो सदस्य अरुण नेपालले पनि तीन महिना पनि नटिक्ने विधान बनाउँदा महाधिवेशनमै प्रश्न उठ्ने बताए । ‘आफूअनुकूल विधान बनाउने भए विधान महाधिवेशन किन गरेको भन्ने प्रश्न उठ्छ,’ उनले भने । पोखरेल पक्षले विधान संशोधनको प्रस्ताव आएमा ‘फरक मत’ दर्ता गर्ने चेतावनी दिएको छ । साथै, यो समूहले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको विषय पनि उठाउने तयारी गरेको छ ।
विष्णु पौडेल वरिष्ठ उपाध्यक्षको दाउमा
उपाध्यक्ष विष्णु पौडेलले आफू अध्यक्ष र महासचिवको दौडमा नरहेको तर पहिलो वरीयता (वरिष्ठ उपाध्यक्ष) मा रुचि रहेको सन्देश दिएका छन् । उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले पनि वरीयता खोजेका छन् । तर, पूर्वमाओवादी पृष्ठभूमिका बादललाई पहिलो वरीयता दिन अन्य नेता तयार नभएकाले ओलीले पौडेललाई वरिष्ठ उपाध्यक्ष बनाउने आकलन गरिएको छ ।
तीन महिनाअघिको निर्णय नै उल्टिने अवस्था आएपछि एमालेभित्र छुट्टै विधान महाधिवेशनको औचित्यमाथि समेत प्रश्न उठ्न थालेको छ ।








ओली संख्या बढाउने दाउमा, पोखरेल पक्ष ‘दुई कार्यकाल’ को अडानमा
समानुपातिकमा १०० दलको आवेदन, बन्दसूची पुस १३ र १४ गते
आज ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, नेपालमा पनि विविध कार्यक्रम हुँदै
स्याङ्जाको कोल्मामा पुस ८ गते राष्ट्रिय स्तरको ‘क्रस कन्ट्री’ दौड हुँदै
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया