एमालेको ११ औं महाधिवेशन : गण्डकीमा महासचिवसम्मका आकांक्षी

समाधान संवाददाता २०८२ मंसिर २४ गते ११:१८

पोखरा ।
एमालेको आसन्न महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुने निश्चित देखिएको छ । ओली र पोखरेलको नेतृत्व तहमा देखिएको प्रतिस्पर्धा र शक्ति सन्तुलनको खेलले गण्डकीका नेताहरूलाई पनि तरंगित बनाएको छ ।


एकातिर ओली र पोखरेलबीचको शक्ति संघर्ष, अर्कोतिर गण्डकीका नेताबीचको आन्तरिक प्रतिस्पर्धाले महाधिवेशनको समीकरण कस्तो बन्ला भन्ने कौतूहलता जगाएको छ । नेतृत्वको संकट झेलिरहेको गण्डकीबाट एमालेको ‘कोर टिम’मा प्रवेश गर्न आधा दर्जन ‘हेभीवेट’ नेता आन्तरिक कसरतमा जुटेका छन् । यद्यपि उनीहरू खुलेर मैदानमा नआए पनि भित्रभित्रै पदाधिकारी सुरक्षित गर्ने रणनीति बुनिरहेका छन् ।


महासचिवमा पृथ्वीसुब्बाको दाबी
गण्डकीबाट नेतृत्वमा दाबी पेस गर्ने प्रमुख पात्र हुन् वर्तमान उपमहासचिव एवं गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ । उनको अर्जुनदृष्टि पार्टीको कार्यकारी पद ‘महासचिव’मा अडिएको छ ।

Advertisement


अध्यक्ष ओलीतर्फ खुलेका गुरुङले अबको १० वर्ष ओलीकै नेतृत्व आवश्यक छ भन्दै उनको विश्वास जित्ने प्रयास गरेका छन् । तर, अध्यक्ष ओली र वर्तमान महासचिव शंकर पोखरेलको कसिलो समीकरणले गुरुङको बाटो के हुन्छ भन्न सकिएको छैन । अर्कोतर्फकै ओली पक्षबाटै वर्तमान उपमहासचिव प्रदीप ज्ञवाली पनि महासचिवका आकांक्षी देखिएका छन् ।


ज्ञवालीले पनि विभिन्न अन्तर्वार्तामा महासचिवको आकांक्षा व्यक्त छन् । अर्कोतर्फ पोखरेल टिमबाट योगेश भट्टराईले महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । यसरी महासचिवमा ४ जनाले प्रतिस्पर्धाका गर्न तयार हुँदा गुरुङको यात्रा उति सहज छैन । गुरुङलाई अहिलेका उपाध्यक्ष विष्णु पौडेलको साथ रहेको बुझिएको छ । उपमहासचिव गुरुङ र उपाध्यक्ष विष्णु पौडेलको नयाँ समीकरणले महाधिवेशनको अंकगणित रोचक बन्न सक्छ ।

Advertisement


पदाधिकारीमा यी हुन् आकांक्षी
पृथ्वीसुब्बामात्र होइन, गण्डकीका अन्य प्रभावशाली नेता पनि पदाधिकारीमा पर्न तल्लीन छन् । वहालवाला सचिव पद्मा अर्याल एक कदमअघि बढ्दै उपमहासचिव बन्ने दाउमा छिन् । अर्यालले गण्डकीबाट महिला नेतृत्वको प्रतिनिधित्व गर्दै पदाधिकारीमा आफ्नो सिट सुरक्षित गर्न लबिङ तीव्र पारेकी छन् ।


गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङ उपाध्यक्षका बलिया दाबेदार हुन् । पूर्वस्वास्थ्य मन्त्री, गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य खगराज अधिकारी पनि यसपटक पदाधिकारीमा सुरक्षित हुन चाहन्छन् । अधिकारीले सचिव बन्ने आकांक्षा देखाएका छन् ।


महासचिव र उपमहासचिवबाहेक सचिव पदका लागि गण्डकीबाट आकांक्षीको लर्को छ । पूर्वमन्त्री जगत विश्वकर्मा र पर्वतका प्रभावशाली नेता पदम गिरीले पनि सचिवमा दाबी गरेका छन् । समावेशी अनुहार र युवा पुस्ताको प्रतिनिधित्व गर्दै उनीहरूले नेतृत्वलाई दबाब बढाएका छन् ।


गण्डकीबाट मात्रै आधा दर्जन नेता पदाधिकारीको दौडमा छन् । पदाधिकारीमा जस्तै केन्द्रीय सदस्यमा पनि गण्डकीबाट ठूलो जमात दाबेदारी गरिरहेको छ । बहालवाला करिब ४० जना केन्द्रीय सदस्य दोहोरिने मुडमा रहेकाले नयाँ अनुहारका लागि केन्द्रीय कमिटीको ढोका साँघुरो हुने देखिन्छ ।

तपाईको प्रतिक्रिया