एन प्याब्सन ‘दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव–२०८२’ सुरु

समाधान संवाददाता २०८२ मंसिर २४ गते १८:२१

पोखरा– नेसनल प्याब्सन (एन प्याब्सन) कास्कीको आयोजनामा बुधबारदेखि पोखरामा ‘दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव–२०८२’ सुरु भएको छ । पोखरा प्रदर्शनी केन्द्रमा सुरु भएको महोत्सव आगामी मंसिर २६ गतेसम्म चल्नेछ ।

महोत्सवको उद्घाटन सत्रसँगै यसअघि सम्पन्न खेलकुद प्रतियोगिताका नतिजा पनि सार्वजनिक गरिएको छ । मंगलबार सम्पन्न क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिवेणी पब्लिक माविलाई १९ रनले हराउँदै कास्की मोडर्नाइज्ड एकेडेमीले उपाधि जितेको छ । लगातार दोस्रो पटक कास्की मोडर्नाइज्ड र त्रिवेणी पब्लिक नै फाइनलमा पुगेका थिए, जसमा नतिजा कास्की मोडर्नाइज्डकै पक्षमा रह्यो ।

पोखरा रंगशालामा भएको फाइनल खेलमा टस जितेर फिल्डिङ रोजेको त्रिवेणीले कास्की मोडर्नाइज्डलाई ब्याटिङको निम्तो दिएको थियो । ब्याटिङमा उत्रिएको कास्की मोडर्नाइज्डले निर्धारित १० ओभरमा ७ विकेट गुमाउँदै ६६ रन बनायो । जवाफी ब्याटिङ गरेको त्रिवेणी पब्लिक १० ओभरमा ९ विकेट गुमाएर ४६ रनमा समेटियो । क्रिकेटतर्फ ज्ञानज्योति विद्याकुञ्ज र नेसनल क्रिएसन एकेडेमी तृतीय भए ।

Advertisement

यस्तै, कक्षा ११ र १२ का विद्यार्थीबीच भएको फुटसल प्रतियोगिताको उपाधि न्यु ग्यालेक्सी स्कुलले जितेको छ । खेलकुदका कार्यक्रम मंसिर २० देखि २३ गतेसम्म सञ्चालन भएका थिए ।

महोत्सवमा १५ सय विद्यार्थीको प्रतिस्पर्धा

Advertisement

महोत्सवमा एन प्याब्सन कास्कीमा आबद्ध ४३ विद्यालयका १ हजार ५ सय विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि प्रदर्शनी समावेश छन् । साथै, पात, पराल र चोयाबाट निर्मित हस्तकला सामग्री निर्माण र अंग्रेजी वक्तृत्वकला प्रतियोगिता पनि राखिएको छ ।

आयोजकका अनुसार अंग्रेजी वक्तृत्वकलामा कक्षा ९ देखि १२ सम्मका विद्यार्थी सहभागी छन् भने अन्य विधामा कक्षा १ देखि १० सम्मका विद्यार्थीबीच प्रतिस्पर्धा हुँदैछ । विजेता विद्यार्थी र विद्यालयलाई ट्रफी तथा मेडल प्रदान गरिनेछ ।

प्रतिभा उजागर गर्ने थलो

महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले यस्ता कार्यक्रमले बालबालिकाको क्षमता उजागर गर्न मद्दत गर्ने बताए । ‘बालबालिकामा हुने हरेक खालका प्रतिभालाई बाहिर ल्याउन राज्य, परिवार र विद्यालय मिलेर काम गर्नुपर्छ,’ उनले भने, ‘किताबी ज्ञानले मात्र पुग्दैन, व्यावहारिक ज्ञानमा पनि उनीहरूलाई सरिक गराउनुपर्छ ।’

एन प्याब्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपानेले हरेक विद्यार्थीसँग केही न केही अन्तरनिहित क्षमता हुने भन्दै त्यसलाई चिन्न सक्नुपर्ने बताए । ‘अबको शिक्षा जीवन, जगत र प्रविधिसँग जोडिने खालको हुनुपर्छ,’ उनले भने ।

एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मनकाजी गुरुङले स्वागत र सचिव प्रेमराज अधिकारीले सञ्चालन गरेका थिए । कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड गण्डकीका निर्देशक भास्करराज पन्त, एन प्याब्सन महासचिव प्रकाश खड्का, हिसान कास्कीका अध्यक्ष दिवाकर जैसी, पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल र विद्यार्थी नीतु भण्डारीले पनि मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया