पश्चिमाञ्चल मावि कानुन संकायका विद्यार्थी लमजुङका गाउँमा

पोखरा– पोखरास्थित पश्चिमाञ्चल माविका कानुन संकायका विद्यार्थीले लमजुङका विद्यालयमा पुगेर कानुनी सचेतना कक्षा सञ्चालन गरेका छन् । युवा पुस्तामा कानुनी ज्ञान फैलाउने उद्देश्यले विद्यालयले लमजुङका दुई विद्यालयमा अभिमुखीकरण कार्यक्रम गरेको हो ।
पोखराबाट गएको कक्षा ११ र १२ मा कानुन अध्ययनरत विद्यार्थीको टोलीले लमजुङको कुशुमाकर मावि र ईशनेश्वर माविमा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ती विद्यालयका कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई कानुन, मौलिक हक र नागरिक अधिकारबारे जानकारी गराइएको थियो ।
विद्यालयका प्राचार्य सरोज कोइरालाले पाठ्यक्रममा पर्याप्त विषयवस्तु नसमेटिँदा बालबालिका अधिकारबाट वञ्चित हुनुपरेको बताए । ‘हक अधिकारबारे जानकारी नहुँदा बालबालिका अवसरबाट वञ्चित छन्,’ उनले भने, ‘उनीहरूलाई सचेत गराउन सके भविष्यमा ठगिने डर हुँदैन ।’
पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्राडा रामनाथ ओझाले विद्यार्थीमार्फत समाज रूपान्तरण गर्न सकिने भएकाले ग्रामीण क्षेत्र रोजिएको बताए । ‘विद्यार्थीले सिकेको कुरा अभिभावकलाई सिकाउँछन्, जसले गर्दा सिङ्गो समाज सचेत हुन्छ,’ ओझाले भने, ‘कोही पनि नागरिक अधिकारबाट वञ्चित हुनु नपरोस् भन्ने हाम्रो चाहना हो ।’ विद्यालयले विगत चार वर्षदेखि गण्डकी प्रदेशका विभिन्न जिल्लामा नियमित रूपमा यस्तो अभियान चलाउँदै आएको छ ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक ध्रुव गौतमले कानुनी अज्ञानताका कारण धेरैले दुःख पाउने गरेको भन्दै विद्यालयस्तरको सचेतना प्रभावकारी हुने बताए ।
कुशुमाकर माविका प्रधानाध्यापक ध्रुवराज घिमिरे र ईशनेश्वर माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामभक्त पौडेलले सहर केन्द्रित कार्यक्रम गाउँमा ल्याएकोमा खुसी व्यक्त गरे । कार्यक्रममा कुशुमाकरका अध्यक्ष देवेन्द्रसिंह घिमिरे, वडाध्यक्ष हिराबहादुर गुरुङ र ईशनेश्वरका प्रधानाध्यापक रमेशचन्द्र घिमिरेले कानुनी साक्षरताको महत्त्वबारे धारणा राखेका थिए ।








सरकार र ‘जेनजी’ बीच ऐतिहासिक १० बुँदे सम्झौता : पूर्ण विवरणसहित
कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
पश्चिमाञ्चल मावि कानुन संकायका विद्यार्थी लमजुङका गाउँमा
एन प्याब्सन ‘दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव–२०८२’ सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया