जीर्णोद्धारपछि फेरियो गलकोट दरबारको मुहार

समाधान संवाददाता २०८२ मंसिर २५ गते ५:३३

गलकोट (बागलुङ) । सय वर्ष पुरानो ऐतिहासिक गलकोट दरबारको मुहार फेरिएसँगै पर्यटकको आकर्षण ह्वात्तै बढेको छ । बागलुङको गलकोट नगरपालिकास्थित हरिचौर बजारमा रहेको यो दरबार अवलोकन गर्न पछिल्लो एक वर्षमा मात्रै २० हजार आन्तरिक पर्यटक पुगेका छन् ।

दरबारको सौन्दर्यीकरण र खानपान तथा बसोबासको व्यवस्था भएपछि पर्यटकको आगमन बाक्लिएको हो । दरबार संरक्षण अभियानमा सक्रिय मञ्जेशबम मल्लका अनुसार जीर्ण बनेको दरबारलाई मर्मत सम्भार गरी चिटिक्क पारिएपछि अहिले यो क्षेत्र पर्यटकको रोजाइमा परेको छ ।

द्वन्द्वकालमा विस्थापित भएपछि बेवारिसे जस्तै बनेको दरबारलाई अहिले पुरानै स्वरूपमा फर्काइएको छ । झ्यालढोका मर्मत र रङरोगन गरेर आकर्षक बनाइएको छ । मल्लसहित चार युवाले ५० लाख रुपैयाँ लगानी गरेर दरबार क्षेत्रमा रहेको पुरानो घर र गोठलाई मौलिक शैलीको ‘रेस्टुरेन्ट’ मा परिणत गरेका छन् ।

Advertisement

तत्कालीन गलकोट राज्यको जीवित इतिहास बोकेको यो दरबार अहिले टिकटक बनाउने, फोटो खिच्ने र ऐतिहासिक अध्ययन गर्ने गन्तव्य बनेको छ । परिसरमा माछापोखरी बनाएर विभिन्न प्रजातिका माछा पनि पाल्न थालिएको छ ।

दुःखद इतिहास र पुनर्जीवन

Advertisement

यो दरबार र वरपरको जग्गा मल्लकी आमा सरोजा मल्लको नाममा छ । विसं २०३९ मा तत्कालीन राजा भरतबम मल्लको निधनपछि संरक्षणको जिम्मा छोरा माधव मल्लले पाएका थिए । तर, विसं २०५९ वैशाखमा द्वन्द्वका क्रममा माधव मल्लको दरबारमै हत्या भयो ।

हत्यापछि मल्ल परिवार विस्थापित भएर काठमाडौँ पसेपछि दरबार लामो समय जीर्ण बन्यो । पछिल्लो समय नाति मञ्जेशले पुर्खाको नासो संरक्षण गर्ने अभियान थालेसँगै दरबारले पुनर्जीवन पाएको हो । अहिले दैनिक रूपमा यहाँ आउने पर्यटकको संख्या बढ्दो क्रममा रहेको मल्लले बताए ।

तपाईको प्रतिक्रिया