काठमाडौैंलाई हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, फाइनलका लागि विराटनगरसँग भिड्ने

समाधान संवाददाता २०८२ मंसिर २५ गते ५:४१


काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपिएल) को इलिमिनेटर खेलमा काठमाण्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जित हात पार्दै लुम्बिनीले उपाधि यात्रा कायमै राखेको हो । अब लुम्बिनीले फाइनल प्रवेशका लागि बिहीबार हुने दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ । हारसँगै काठमाण्डु गोर्खाज भने प्रतियोगिताबाट बाहिरिएको छ ।

Advertisement

काठमाण्डुले दिएको १ सय १२ रनको सामान्य लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीको जितमा डार्सी सटले सर्वाधिक ३३ रन बनाए । यस्तै, सन्दीप जोराले २३, कप्तान रोहित पौडेलले १८ र निरोशन डिक्वेलाले १४ रनको योगदान दिए । बलिङतर्फ काठमाण्डुका सन्तोष यादवले २ विकेट लिए भने करण केसी, साहब आलम, राशिद खान र सन्नी पटेलले १–१ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाण्डुले खराब प्रदर्शन गर्दै १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय ११ रन मात्र बनाउन सक्यो । पावर प्लेमै ४ विकेट गुमाएर दबाबमा परेको काठमाण्डुका लागि सन्तोष यादवले सर्वाधिक २३ रन बनाए । जोन सिम्पसन र मोहम्मद आदिल आलमले समान १८–१८ तथा भीम सार्कीले १४ रन बनाए ।

Advertisement

काठमाण्डुलाई सस्तैमा समेट्न लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले कसिलो बलिङ गरे । उनीहरूले समान ३–३ विकेट लिए । रुबेन ट्रम्पलम्यानले २ र अविनाश गौतमले १ विकेट हात पारे ।

लिग चरणमा काठमाण्डु तेस्रो र लुम्बिनी चौथो हुँदै इलिमिनेटरमा भिडेका थिए । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको विराटनगर किङ्सले अब लुम्बिनीसँग दोस्रो क्वालिफायर खेल्नेछ । उक्त खेलको विजेताले उपाधिका लागि सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नेछ ।

तपाईको प्रतिक्रिया