पोखराको महेन्द्रगुफामा मौरी मेला हुँदै

पोखरा । अंग्रेजी नयाँ वर्षमा महोत्सवको तयारी गरिरहेको पोखरामा आगामी शुक्रबार अर्काे महोत्सव हुँदै छ । वर्षैभरी विभिन्न महोत्सव हुने पर्यटन राजधानी पोखराको लोकप्रिय पर्यटकीय गन्तव्य महेन्द्रगुफा परिसरमा मौरी तथा मह मेला २०८२ हुन लागेको हो ।
पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा, पोखरा महानगरपालिका वडा नम्बर १६ र वडास्तरीय कृषि सञ्जाल पोखरा १६ को आयोजनामा मौरीपालनलाई प्रवर्धन गर्दै पर्यटनलाई सघाउन महोत्सव गर्न लार्गिको हो ।
मेलामा उत्कृष्ट मौरीपालकलाई सम्मानसहित मह काढ्ने प्रतियोगिता, कृषकबिच वक्तृत्वकला प्रतियोगिता, मौरीपालनबारे खुला हाजिरीजवाफ जस्ता गतिविधि हुने आर्थिक पोखरा महानगरका विकास महाशाखा प्रमुख मनहर कडरियाले बताए । ‘महोत्सवमा स्थानीय मह प्रवर्धन, मह काढ्ने प्रविधि प्रवर्धन गरिनेछ । सँगसँगै स्थानीय मह बिक्रीसमेत हुनेछ,’ उनले भने ।
मौरीबारे स्थानीयका भ्रम हटाउने र मौरीपालन बढाउन पनि महोत्सव सहायक हुने अपेक्षा गरिएको छ । वडा स्तरीय कृषि सञ्जालका अध्यक्ष जितबहादुर बस्नेतले मौरीका कारण परागसेचन हुँदा बालीनालीमा फाइदा पुग्ने र महसमेत उत्पादन हुँदा दोहोरो फाइदा हुने तथ्य किसनलाई बुझाइने जनाए ।
मेलामा पोखराका ३३ वटै वडाबाट मौरीपालक कृषकहरुको सहभागिता रहने छ । महानगरले वडा नम्बर १६ सहित चार वडालाई मौरी पकेट क्षेत्र घोषणा गरेको छ । पोखरा १६ मा मात्र पाँच सय मौरी पालक रहेको बस्नेत बताउँछन् । यो वडामा चार सय घर सेरेना र करिब दुई सय घार मेलिफेरा जातका मौरीपालन रहेको उनले सुनाए ।
पोखरा महानगरले मौरीपालनलाई प्रोत्साहन गर्न समर्थन मूल्य तोकेको छ । अहिले यहाँका किसानले स्थानीय मह किलोको १ हजार ५ सयदेखि २ हजारसम्ममा बिक्री गर्दै आएका छन् । मह बिक्री नभए महानगरले तोकिएको समर्थन मूल्य किलोको ८ सय २५ रुपैयाँ दिइने जनाउँदै महाशाखा प्रमुख कडरिया समर्थन मूल्य दिनुपर्ने अवस्था नरहेको र माग नै पूरा नभएको सुनाउँछन् ।
पोखरा महानगरको कृषि भूमी घट्दै गएको छ भने मुख्य बजार क्षेत्रमा आवास बन्ने क्रम तीव्र छ । मौरीपालनबाट एकातिर मह आपूर्ति हुनुका साथै अर्कातिर हरियाली विस्तार, खाद्यान्न, तेलहन लगायतका बालीको वृद्धि हुने अपेक्षा गरिएको छ । पोखरा उपत्यकामा गरिएको मौरीपालनबाट वार्षिक ९० टन मह उत्पादन हुने कृषि विकास महाशाखाको तथ्यांक छ ।








पोखरामा पुस ९ देखि राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप
चार मन्त्री थपिएसँगै मन्त्रिपरिषद् १४ सदस्यीय, नवनियुक्त मन्त्रीहरूद्वारा पदभार ग्रहण
नवरत्नलाई सम्मान गर्दै महानगर
सम्पादक कोइराला पुरस्कृत
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया