भिजिट भिसा प्रकरण : सहसचिव तीर्थराज भट्टराई र अधिकृत अर्यालसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा रहँदा ‘भिजिट भिसा’ का नाममा सेटिङ मिलाएर रकम असुलेको अभियोगमा सहसचिव तीर्थराज भट्टराईसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । आयोगले तत्कालीन अध्यागमन प्रमुखसमेत रहेका सहसचिव भट्टराई र शाखा अधिकृत यज्ञ अर्याललाई मुख्य प्रतिवादी बनाएको छ ।
अख्तियारले दायर गरेको मुद्दामा सहसचिव भट्टराईसँग करिब ७९ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ । यस्तै, अर्का आरोपी शाखा अधिकृत अर्यालविरुद्ध ५ लाख रुपैयाँ बिगो दाबी गरिएको अख्तियार स्रोतले जनाएको छ । मुद्दा दायर गरिएका अन्य ४ जना भने भिजिट भिसा तस्करीमा बिचौलियाको भूमिका निर्वाह गर्ने व्यक्तिहरू हुन् ।
विमानस्थलबाट भिजिट भिसामा विदेश जाने यात्रुहरूसँग कागजात मिलाइदिने बहानामा अवैध रकम असुलेको आरोपमा उनीहरूमाथि अख्तियारले अनुसन्धान गरेको थियो । अनुसन्धानकै क्रममा सहसचिव भट्टराई ७ जेठ २०८२ मा विमानस्थलबाटै पक्राउ परेका थिए । उनी त्यतिबेला विमानस्थल अध्यागमन कार्यालयको प्रमुखको जिम्मेवारीमा थिए ।
विमानस्थलस्थित अध्यागमनका कर्मचारीले भिजिट भिसामा जाने सर्वसाधारण नेपालीबाट रकम असुल्ने धन्दा लामो समयदेखि चल्दै आएको थियो । यसअघि यही प्रकरणमा नेपाल प्रहरीले पनि अनुसन्धान गरेको थियो । प्रहरीको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले १० माघ २०८० मा ९ जना अधिकृतसहित २२ जनाविरुद्ध संगठित अपराध र किर्ते अभियोगमा मुद्दा दायर गरेको थियो ।
तर, काठमाडौं जिल्ला अदालतले एक वर्षपछि १४ मंसिर २०८१ मा फैसला सुनाउँदा कर्मचारीहरूलाई सफाइ दिएको थियो । अदालतले बिचौलिया र ट्राभल एजेन्सी सञ्चालकलाई मात्र दोषी ठहर गरेको थियो । संगठित अपराधमा कर्मचारीले सफाइ पाए पनि अख्तियारले भने उनीहरूले पदीय दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको र भ्रष्टाचार गरेको कसुरमा मुद्दा अघि बढाएको हो ।








भिजिट भिसा प्रकरण : सहसचिव तीर्थराज भट्टराई र अधिकृत अर्यालसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
सरकार र ‘जेन–जी’ बीचको सम्झौतालाई ओलीले भने : गोबरमाथि नाग टाँसेको कलाविहीन नाटक
संकट र सम्भावनाको दोबाटोमा देश
सम्पादकीय—ठूला प्रकरण छानबिन गर
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया