चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा

गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब ८४ दिन मात्र बाँकी छ । निर्वाचनको मिति नजिकिएसँगै गण्डकी प्रदेशमा राजनीतिक गतिविधि ह्वात्तै बढेको छ । ‘जेनजी’ आन्दोलनपछि केही सुस्ताएको राजनीतिक माहोल अहिले फेरि तातेको छ । दलहरू चुनाव लक्षित अभियान र कार्यक्रममा केन्द्रित हुन थालेका छन् ।
अघिल्लो निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसले उम्मेदवार सिफारिस र संगठन विस्तारलाई तीव्रता दिएको छ । कांग्रेस गण्डकीका महामन्त्री विष्णु लामिछानेले जिल्लाबाट प्रत्यक्ष र समानुपातिकतर्फका सम्भावित उम्मेदवारको नाम सिफारिस गर्ने काम भइरहेको जानकारी दिए । आगामी पुस २६ देखि २८ गतेसम्म हुने १५औँ महाधिवेशनले पनि कांग्रेसभित्रको माहोल तताएको छ । लामिछानेले भने, ‘निर्वाचन र महाधिवेशन नजिकिएकाले जिल्ला र प्रदेशस्तरमा पार्टीका भेला तथा बैठकहरू बाक्लिएका छन् । अहिले सिंगो पार्टी पंक्ति तयारीमा जुटेको छ ।’
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ११औँ महाधिवेशनको संघारमा छ । शनिबारदेखि सुरु हुने महाधिवेशनका लागि नेता तथा कार्यकर्ता राजधानी जाने क्रम सुरु भएको छ । एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसीले महाधिवेशनले पार्टीको आन्तरिक जीवनलाई चलायमान बनाएको बताए । उनले भने, ‘महाधिवेशनले राष्ट्रिय राजनीतिमा प्रभाव त राख्छ नै, तर यो एमालेको आन्तरिक जीवनमा धेरै महत्त्वपूर्ण छ । निर्वाचन घोषणा भइसकेको अवस्थामा दलका गतिविधि बढ्नु स्वाभाविक हो ।’
विभिन्न समूहबीचको एकतापछि बनेको नेपाली कम्युनिस्ट पार्टी पनि चुनावी अभियानमा होमिएको छ । पार्टीका केन्द्रीय सदस्य ज्ञामनाथ गैरे ‘अनिल’ का अनुसार मंसिर १४ गते पोखराबाट सुरु भएको एकता सन्देश सभा अहिले जिल्लास्तरमा भइरहेको छ । बिहीबार गोरखा र लमजुङमा सभा सम्पन्न भएको छ भने शुक्रबार तनहुँ, पर्वत र स्याङ्जामा तथा शनिबार बागलुङ र नवलपुरमा कार्यक्रम आयोजना गरिएको छ । गैरेले भने, ‘हामी निर्वाचनमा भाग लिने घोषणासहित तयारीमा छौँ । एकताको सन्देशले चुनावी माहोल बनाउन मद्दत गरेको छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि चुनावी गतिविधिलाई तीव्रता दिएको छ । रास्वपा बागलुङका जिल्ला सदस्य राजेन्द्र शर्माले संगठन विस्तारसँगै उम्मेदवार छनोटको प्रक्रिया अगाडि बढाइएको बताए । उनले भने, ‘बागलुङका १६ वटा वडामा अधिवेशन सकिएको छ । समानुपातिकतर्फ ४ जना आकांक्षीको नाम सिफारिस गरेका छौँ भने प्रत्यक्षतर्फ आवेदन लिने काम भइरहेको छ ।’ उनले जिल्लाबाट नाम सिफारिस भए पनि उम्मेदवारको अन्तिम टुंगो भने केन्द्रले लगाउने जानकारी दिए ।रासस









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया