जब विद्यार्थीले प्रदर्शनी केन्द्रमै गुन्द्री बुने

समाधान संवाददाता २०८२ मंसिर २६ गते ४:५१

पोखरा । पोखरा प्रदर्शनी केन्द्र यतिबेला कुनै व्यापारिक मेलाले होइन, विद्यार्थीहरूको सिर्जना र प्रतिभाले भरिभराउ छ । नेसनल प्याब्सन कास्कीले बुधबारदेखि सुरु गरेको ‘दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव’ मा बालबालिकाको कला हेर्न आउने विद्यार्थी र अभिभावकको बाक्लो भीड लागेको छ । प्रदर्शनी केन्द्र छिर्नेबित्तिकै कतै गुन्जिएको लोक भाका त कतै विज्ञान प्रविधिको रौनकताले जोकोहीको मन लोभ्याउँछ ।

Advertisement

महोत्सव परम्परागत हाजिरीजवाफ वा भाषणमा मात्र सीमित छैन । यहाँको माहोल फरक छ । एकातिर मञ्चमा सामूहिक लोकनृत्य, एकल गायन, अभिनय, कविता वाचन र अंग्रेजी वक्तृत्वकलामा विद्यार्थीहरूले आफ्नो अब्बल प्रस्तुति दिइरहेका छन् भने अर्कोतिर चित्रकला र हस्तकलाका सामग्रीले आगन्तुकलाई टक्क अड्याएको छ । अझ रोचक दृश्य त त्यहाँ देखिन्छ, जहाँ आधुनिक जमानाका विद्यार्थीहरू पात, पराल र चोया बोकेर बसेका छन् ।


कक्षाकोठाको चार पर्खालभित्रको पढाइले मात्र सिकाइ पूर्ण हुँदैन भन्ने मान्यतालाई यो महोत्सवले व्यवहारमै उतारेको छ । आधुनिकताको नाममा हराउँदै गएको गुन्द्री बुन्ने, दुनाटपरी गाँस्ने र चोयाबाट डोको बुन्नेजस्ता परम्परागत सीपमा विद्यार्थीहरू तल्लीन देखिँदा अभिभावकहरूले खुलेर प्रशंसा गरेका छन् । प्लाष्टिकजन्य सामग्रीको बढ्दो प्रयोगले मौलिकता मासिँदै गएको बेला साना नानीबाबुले तान लगाएर गुन्द्री बुनेको र चोया काटेर डोको बनाएको दृश्यले शिक्षक तथा अभिभावकमा समेत नयाँ उत्साह थपेको छ ।

Advertisement


‘कक्षाकोठाभित्र पढाइने सैद्धान्तिक ज्ञानले मात्रै सिकाइ पूर्ण हुन नसक्ने वास्तविकतालाई आत्मसात् गर्दै विद्यार्थीमा व्यावहारिक ज्ञान र सीप सिकाउने उद्देश्यले यो महोत्सव आयोजना गरिएको हो,’ नेसनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले भने, ‘नियमित प्रयोग गर्दै आएका वस्तुका लागि अहिले बजारका प्लाष्टिकजन्य सामग्रीमा निर्भर रहनुपर्ने अवस्था छ । आफैँले घरमै तयार पारेर प्रयोग गर्न मिल्ने सामग्रीमा परनिर्भर नभई जीवनोपयोगी सीप सिक्ने वातावरण महोत्सवले दिलाएको छ ।’


घरमा प्रयोग हुने भए पनि सिक्ने समय नमिल्दा वा नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा मौलिक प्रविधिहरू लोप हुने अवस्थामा छन् । यस्तोमा यो महोत्सव नयाँ पुस्तालाई पुख्र्यौली सीप सिकाउने ‘कोसेढुंगा’ साबित भएको छ । महोत्सवमा आएकाहरूले यसलाई केवल प्रतियोगिता मात्र नभई एउटा जीवन्त सिकाइको थलोको रूपमा लिएका छन् ।

Advertisement


प्रतियोगितामा नेसनल प्याब्सन कास्कीमा आबद्ध ४३ वटा विद्यालयका १ हजार ५ सय विद्यार्थीले विभिन्न विधामा आफ्नो प्रतिभा देखाइरहेका छन् । विजेता विद्यालय तथा विद्यार्थीलाई ट्रफी र मेडल प्रदान गरिनेछ । शुक्रबार सामूहिक लोकनृत्य र पुरस्कार वितरणसँगै महोत्सव सकिने सचिव प्रेमराज अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया